
पोखरा १२, माघ
पोखरामा भोलि (शनिबार) देखि खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० हुने भएको छ । पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना शनिबारदेखि पोखरामा पहिलो पटक हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको प्रा.लि.का अध्यक्ष सोम बि.क.ले बताउनु भयो ।

पोखरामा विगत दुई बर्ष देखि फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजनामा गण्डकी प्रदेश स्तरिय खुल्ला स्नोकर प्रतियोगिता गर्दै आएको सन्र्दभमा प्रा.लि.ले नयाँ खेलाडी उत्पादन सहित यस खेलको प्रबद्र्धन गरी, स्नोकर खेलको विकासको लागि पनि उक्त प्रतियोगिता आयोजना गरिएको उहाँले जनाउनु भयो । खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले कास्की विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा उक्त प्रतियोगिता हुने भएको अध्यक्ष बि.क.ले बताउनु भयो ।

प्रतियोगितामा १ सय २३ जना खेलाडीहरु सहभागि हुनुहुने भएको छ । पोखरा क्षेत्रबाट मात्र ६६ जना अन्य खेलाडी अन्य विभिन्न जिल्लाबाट सहभागि हुने भएको अध्यक्ष बि.क.ले जनाउनु भयो । प्रतियोगितामा विजेता हुने खेलाडीलाई १ लाख ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । त्यसै गरी प्रतियोगितामा उपविजेतालाई ७० हजार र तेश्रो हुने दुई जना खेलाडीलाई जनही २०÷२० हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको हो । उक्त प्रतियोगिता फाइनल स्कोर स्पोर्टस (स्नोकर हाउस) मा यही माघ २८ गतेसम्म संचालन हुने भएको प्रा.लि.का संचालक मध्यका एक प्रताप गुरुङले बताउनु भयो ।
संघका संस्थापक अध्यक्ष वसन्त गौचनले यस खेललाई करिब ४ दशक अघि ८ जना खेलाडीहरु मत्र खेल्ने गरेकोमा हाल यस खेल भद्र व्यक्तिहरुले शान्त र शारीरिक व्ययमका लागि समेत खेल्न थालेको बताउनु भयो । उक्त प्रतियोगिताको मुख्य सहयोग पोखरा महानगरपालिकाले गर्ने भएको छ ।




