एपिएफ माथि सहज जित हासिल गर्दै पुलिस आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइनलमा

-


     पोखरा क्लिक     
     माघ १२ गते २०८० मा प्रकाशित



दीननाथ बराल
पोखरा १२, माघ,


नेपाल पुलिस क्लव पोखरामा जारी २३ औं संस्करणको आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको अन्तिम प्रिक्वाटरफाइनल खेलमा पुलिसले विभागिय टोली शसस्त्र प्रहरी वलको एपिएफ क्लव माथि २—० को सहज जित हासिल गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।

पुलिसको जितमा मान बहादुर परियारले दुई गोलको योगदान दिनु भयो । साथै परियार खेलमा म्यान अफ दी म्याच समेत घोषित हुनु भयो । खेलको १९ औं मिनेटमा पुलिसका प्रताप गुरुङको फ्रिकिकलाई परियारले हेड मार्फत गोल गरी टिमलाई अग्रता दिलाउनु भएको हो । खेलको ७० औं मिनेटमा पुनः मान बहादुर परियारले प्रताप गुरुङकै पासमा गोल गरी टिमलाई २—० को अग्रता दिलाउनु भएको हो ।

विभागियमा सर्वाधिक सफलता हासिल गरेको पुलिससंग खेलको सुरुवातमै गोल खाएर दबाबमा परेको एपिएफले शुक्रबारको खेलमा पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा आहा राराको पहिलो चरणको खेलबाट बाहिरिएको हो । एपिएफका बुद्धिमान राईको कर्नर वल दोश्रो वारमा लागेर रिवाउण्ड भएको थियो । एपिएफका युवराज खड्का, दीपेश धिमाल लगायतका प्रहार खेर गएको थियो । एपिएफका प्रशिक्षक सुमन श्रेष्ठले अन्तिम समयमा करिब ४ दिनको तयारीमा जुट्दा र खेलमा पाएका अवसर सदुपयोग गर्न नसक्दा हार्नु परेको बताउनु भयो । पुलिसका प्रशिक्षक चेतन घिमिरेले आहा रारा पोखरा गोल्ड कपमा आफु खेलाडी हुँदा ह्याट्रिक पूरा गरेको स्मरण गर्दै अब प्रशिक्षणको जिम्मामा राम्रो सुरुवात भएको बताउनु भयो ।

अब पुलिसले चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसंग यही माघ १६ गते खेल्ने भएको छ । भोलि देखि क्वाटरफाइनलका खेलहरु हुने भएको छ । शनिबार हुने पहिलो क्वार्टरफाइनलमा थ्री स्टार क्लबले पाहुना टोली भुटानको पारो एफसीसंग भिड्ने भएको हो ।