पोखरामा निर्माण भएको राष्ट्रिय बाणिज्य बैंक गण्डकी प्रादेशिक कार्यालयको भवन काठमाण्डौंबाटै उद्घाटन

-


     पोखरा क्लिक     
     माघ ११ गते २०८० मा प्रकाशित


दीननाथ बराल

पोखरा ११, माघ,

देशमा संघियता आएको करिब ६ बर्ष पुग्दै गर्दा अझै पनि हाम्रो काम गर्ने शैलि र व्यवहार केन्द्रबाद माथिबाटै गर्नु पर्छ भन्ने मान्यता रहेको छ । यसको पछिल्लो उदाहरण हो पोखरामा २५ करोड मुल्य बराबरको सायद बैंकिङ क्षेत्रको आफ्नै जग्गामा ठुलो लगानीमा निर्माण भएर पनि केन्द्रबाटै उक्त भवनको पोखरामा थाहा नापाई सुटुक्क उद्घाटन भएको हो ।

पोखरा नयाँबजारमा हालै निर्माण भएको राष्ट्रिय बाणिज्य बैंक गण्डकी प्रादेशिक कार्यालयको भवन काठमाण्डौंबाटै नेपाल सरकारका अर्थमन्त्री प्रकाशशरण महतबाट उद्घाटन गरिएको राष्ट्रिय बाणिज्य बैंक गण्डकी प्रादेशिक कार्यालयका निमिक्त प्रादेशीक प्रबन्धक विधुर भुषण क्षत्रीले पोखराक्लिकलाई बताउनु भयो ।

राष्ट्रिय बाणिज्य बैंकको ५९ औं बार्षिकोत्सवको अवसरमा बुधबार काठमाण्डौंबाटै पोखराको नयाँबजारमा हालै निर्माण भएको उक्त कार्यालय भवनको उद्घाटन भएको उहाँले जनाउनु भयो ।

उक्त भवनको हालसम्म करिब ९२ प्रतिशत निर्माण कार्यसम्पन्न भएको बैंकले जनाएको छ । पोखराको नयाँजबारमा करिब ४ रोपनी क्षेत्रफलमा ५ तले अत्याधुनिक भवन निर्माण भएको निमिक्त प्रादेशीक प्रबन्धक क्षत्रीले उल्लेख गर्नु भयो । उक्त भवनमा आवश्यक पर्ने पानी भवनकै जमिन मुनिबाटै निकालीएको र सोलार लाइट समेत जडान भएकोले बिद्युत नहँुदा समेत भवनमा कुनै समस्या नहुने उहाँले दाबी गर्नु भयो ।

भुई तलामा पार्किङ, पहिलो तलामा पोखराको पृथ्बीचोक शाखाबाट हुने गरेको आर्थिक कारोवार सुरु भएको उहाँले बताउनु भयो । बिचको तलामा भाडामा दिने योजना रहेको निमिक्त प्रादेशीक प्रबन्धक क्षत्रीले बताउनु भयो । राष्ट्रिय बाणिज्य बैंक प्रादेशिक तालिम केन्द्रको रुपमा विकसित गर्न खोजिएको उहाँले बताउनु भयो । त्यस भन्दा माथि गण्डकी प्रदेशको कार्यालय रहने भएको उहाँले जनाउनु भयो । उक्त भवन २५ करोडमा निर्माण भएको कार्यालयले जनाएको छ ।

नेपाल राष्ट्र बैंक अनुसार कृषि कर्जालाई प्रथामिकता दिदै आएको बैंकले जनाएको छ । बैंकले सुन कर्जा, शैक्षिक कर्जा, कृषि कर्जा, पर्यटन कर्जा लगायतका क्षेत्रमा लगानी गरेको छ । प्रादेशिक कार्यालयमा १७ जना कर्मचारी र शाखामा १६ जना कर्मचारी रहनु भएको छ । पोखरामा उक्त भवन निर्माण हुनुले यस क्षेत्रका जनताको थप विश्वासले राष्ट्रिय बाणिज्य बैंक थप प्रभावकारी ढंगले आर्थिक कारोवार गर्ने भएको निमिक्त प्रादेशीक प्रबन्धक क्षत्रीले दाबी गर्नु भयो । पयाप्त पार्किङ सहितको पार्क समेत निर्माण हुनुले बैंकमा आउने ग्राहकहरुको लागि सहज हुने बैंकले जनाएको छ ।