पोखरामा प्रथम पुन हिल कप खुल्ला क्लब स्तरीय भलिबल प्रतियोगिता हुने

-


     पोखरा क्लिक     
     माघ १० गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा १०, माघ,


पोखरामा प्रथम पुन हिल कप खुल्ला क्लब स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । पुन समाज नेपालको आयोजनामा यही माघ १५ देखि १९ गतेसम्म पोखरामा प्रथम पुन हिल कप खुल्ला क्लब स्तरीय पुरुष÷महिला÷प्रौढ÷भलिबल प्रतियोगिता आयोजना गर्ने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

बिशेष गरी तीन इभेण्टमा हुने भलिवल प्रतियोगिता अन्र्तगत खुल्ला क्लब स्तरीय पुरुष भलिबल तर्फको विजेताले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैया साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको समाजका महासचिव खिमन शेरपुजा पुनले बताउनु भयो । त्यसै गरी खुल्ला क्लबस्तरीय महिला प्रतियोगिताको विजेताले ६६ हजार ६ सय ६६ उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन्। प्रतियोगिता पुन समाज नेपाल पोखराको रामघाटमा सञ्चालन हुनेछ ।

त्यस्तै ४० वर्ष माथिको प्रौढ भलिबल प्रतियोगिताको विजेताले ३३ हजार ३ सय ३३ र उपविजेताले २० हजार रुपैयाँको साथमा कप, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । टिम सहभागिता जनाउन पुरुष तर्फ ८ हजार, महिला तर्फ ६ हजार र प्रौढ तर्फ ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको प्रतियोगिताका संयोजक खेमबहादुर पुनले बताउनु भयो । प्रतियोगितामा पुरुष तर्फ भने २० टिमको अपेक्षा गएिको उहाँले जनाउनु भयो । टिममा प्रदेश तथा राष्ट्रिय स्तरका खेलाडी समावेश गर्न प्रतिवन्ध गरिएको छ ।

पुन समाज नेपालको स्थापन दिवसको अवसरमा विभिन्न खेलगतिविधि गरिएको समाजले जनाएको छ । पुन समाज नेपाल २०६३ माघ १५ गते स्थापना भई पुनः समुदायको हकहितमा समाजले काम गर्दै आएको छ । यही माघ २० गते पुन समाज नेपालको १८ औं राष्ट्रिय सम्मेलन पुन समाज पोखरामा हुने भएको हो ।