चलचित्र क्षेत्रको विकास गर्न कार्यविधि ल्याउने तयारी, पर्यटकीय गाँउ सिक्लेसमा कलाकारलाई स्वागत

-


     पोखरा क्लिक     
     माघ ७ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा ७, माघ

कास्कीको सिक्लेस पुगेको कलाकार सहित पत्रकारको टोलीलाई स्थानिय गाँउलेले फुलमालाले भव्य स्वागत गरेका छन् । आफ्नो गाउँमा कलाकारको टोलीलाई स्वागत गर्न पाउदा सिंगो गाउँले नै खुसिले गदगद भएको स्थानियले बताउनु भयो ।

आफ्नो गाउँमा चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसी सहित कलाकारको टोली आउदा अब ठुलो पर्दामा देखाउने गरी आफ्नो गाँउ ठाँउको प्रचारप्रसार गर्न स्थानियले माग गर्नु भएको छ । गाँउलेले फुलमालाले कलाकारलाई स्वागत सत्कार गर्दै आफ्नो गाँउको प्रचार प्रसार फिल्म मार्फत गर्न माग गर्नु भएको मार्दी गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष देविजंग गुरुङले बताउनु भयो । गुरुङ समुदायको मुख्य बस्ती रहेको उक्त क्षेत्रबाट हिमश्रृखला समेत देख्न सकिने भएकोले सिक्सेल पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको विकास गर्न नयाँ कार्यविधि ल्याउने तयारी भएको बताउनु भयो । कास्कीको पर्यटकीय गाँउ सिक्लेसमा चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको ‘सिक्लेस सिनेमा र सरकारः हिजो आज र भोलि’ विषयक बहसमा वोल्दै अध्यक्ष केसीले उक्त कुरा बताउनु भएको हो ।

अहिलेकी सञ्चार मन्त्री रेखा शर्माले कार्यविधि पास गराउन आश्वासन दिएकाले बताउदै अध्यक्ष केसीले आफु निकै आशावादी रहेको बताउनु भयो । लामो समय नायक तथा निर्देशनको भूमिकामा रहनु भएको अध्यक्ष केसीले बोर्डमा जागिर खानलाई मात्र आफु नगएको दाबी गर्दै केही परिवर्तन गरेको जिकिर गर्नु भयो । बोर्ड र मन्त्रालय बीचको बिबादहरु आफूले धेरै मिलाइसकेको र अब ऐन पास गराउनका लागि अन्तिम प्रयास भएको उहाँको भनाई छ ।

चलचित्र विकास बोर्ड स्वायत्त नहुँदासम्म चलचित्र क्षेत्र सहित वोर्डको विकास गर्न नसकिने उहाँको भनाई थियो । सञ्चार मन्त्रालयको माताहातमा जबसम्म बोर्ड रहिरन्छ, तबसम्म राष्ट्रिय चलचित्र र चलचित्र विकास बोर्डको विकास गर्न नसकिने दाबी गर्दैै अध्यक्ष केसीले ब्ल्याक एण्ड ह्वाइटबाट रंगिन हुदै डिजिटल प्रविधिमा आइसक्दा पनि ऐन भने पुरानै भएकोले गर्दा काम गर्न कठिनाई भएको उल्लेख गर्नु भयो । अध्यक्ष केसीले चलचित्र क्षेत्रको विकास गर्ने गरी बोर्डमा कोही आउन चाहे आफू तत्काल पद छोड्न तयार रहेको उद्घोष गर्नु भयो ।

प्रकाश सुवेदीले सहजीकरण गरेको बहसमा केसी सहित आकाश अधिकारी र दीपा श्री निरौला लगायतका कलाकारको सहभागी रहेको संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले बताउनु भयो । निरौलाले सरकारले चलचित्र क्षेत्रलाई प्राथमिकतामा नराखेको गुनासो गर्नु भयो । सरकारले चलचित्रलाई केवल मनोरञ्जन र रमाइलोको साधनका रुपमा मात्र लिने गरेकोले यसको दिगो विकास हुन नसकेको उहाँले दाबी गर्नु भयो ।



This will close in 20 seconds