दीननाथ बराल
पोखरा ४, माघ
डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी वलको एपिएफ क्लब र चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड एकेडेमी पोखरामा जारी चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता २०८० को फाइनलमा प्रबेश गरेका छन्। शनिबार उपाधिको लागि डायमण्ड र एपिएफ बिच फाइनल खेल हुने भएको प्रतियोगिताका संयोजक दीपक कार्कीले पोखराक्लिकलाई बताउनु भयो ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना पोखरामा आज सम्पन्न भएको सेमिफाइनल खेलमा दुबै टिमले जित हासिल गरी फाइनलमा यात्रा तय गरेका हुन्। एपिएफले पहिलो दुई सेट १९–२५ र २०–२५ ले नेपाल आर्मीसंग हार्न पुग्यो भने बाँकी लगातार तीन सेट २५–१३, २५–१६ र १५– १३ ले आफ्नो पोल्टामा पार्न सफल भयो । आर्मीको एक पछि अर्कोको गल्तीको फाइदा उठाउदै एपिएफ उपाधि नजिक पुगेको हो । खेलमा एपिएफकी सरस्वती चौधरी टाइगर अफ दि म्याच घोषित हुनु भयो ।
अर्को सेमिफाइनल खेलमा न्यू डायमण्डले नेपाल पुलिस क्लव माथि सोझो तीन सेट आफ्नो पोल्टामा पार्दै एपिएएफसंग फाइनलमा यात्रा बनाएको हो । न्यू डायमण्डले २५–१९,२५–१८ र २५–१८ ले पुलिसलाई पराजित गर्यो । खेलमा टाइगर अफ दि म्याच न्यू डायमण्डकी सलिना बुढामगर घोषित हुनु भयो ।
हाल पोखरा रंगशालामा पुरुष तर्फ गण्डकी र त्रिभुवन आर्मी बिचको खेल संचालन भएको खेल संयोजक दीपक कार्कीले जनाउनु भयो । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्र सहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।
उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५–१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने संस्थाका सचिव डिबी नेपालीले बताउनु भयो । पुष १ गते देखि सुरु भएको प्रतियोगितामा महिला तथा पुरुष तर्फ एक÷एक विदेशी सहित ६÷६ टिमको सहभागिता रहेको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले बताउनु भयो ।