
दीननाथ बराल
पोखरा ३, माघ
नेपालको महिला भलिवल टिमका कप्तान तथा गण्डकी भलिवल संघको कप्तानी सम्हालेकी अरुणा शाहीको नेतृत्वको गण्डकीले अंक बिहिन हुदै ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला भलिवल प्रतियोगिताबाट बाहिरिएको छ । त्यसै गरी पाहुना टोली भारत हरियाणा बाट आएको महिला टिम पनि समुह बीबाट दुबै खेलमा पराजित भएसंगै प्रतियोगिताबाट बाहिरिएको छ ।

समुह एमा रहेको गण्डकीले दुई खेलमा हार व्यहोर्दै अंक विहिन हुँदा हरियाणा टिम समुह बिबाट दुबै खेलमा पराजित भएसंगै प्रतियोगिताबाट बाहिरिएका हुन् । आज(बुधबार) भएको महिला तर्फको पहिलो खेलमा शसस्त्र प्रहरी वलको एपिएफ क्लवले गण्डकीलाई २५–१६, २५–९ र २५–१७ को सोझो सेटमा पराजित गरेको हो । त्यसै गरी अर्को खेलमा चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड एकेडेमीले भारतको हरियाणा टिमलाई २५–१७, २५–१८ र २५–१६ को सोझो सेटमा पराजित गरेको हो ।

समुह एमा रहेको एपिएफ ५ अंक सहित समुह बिजेता हुदै समुह बीमा रहेको त्रिभुवन आर्मी उपविजेता हुदै पहिलो सेमिफाइनलमा विहिबार प्रतिष्प्रर्धा गर्ने भएको खेल संयोजक दीपक कार्कीले बताउनु भयो । त्यसै गरी ६ अंक सहित समुह बीको विजेता भएको न्यु डायमण्ड एकेडेमीले ३ अंक सहित समुह बिको उपविजेता नेपाल पुलिससंग दोश्रो सेमिफाइनल खेलमा भिड्ने भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी तेश्रो दिन पुरुष तर्फ लिग चरणका दुई खेल हुदैछन्। यस्तै पुरुषतर्फ नेपाल पुलिस क्लब र श्रीलंका आर्मी टिमका बिच तथा दोश्रो खेल हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश भलिबल संघका बिच हुने टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले बताउनु भयो ।

तष्विर उमेश पुन