पोखरा १, माघ
पत्रकारद्धय त्रिभुवन पौडेल र अनिल शाहीको स्मृतिमा पोखरामा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । गत वर्ष माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी पत्रकार त्रिभुवन र अनिल सहित ७२ जनाको निधन भएको थियो भने त्यसको एक बर्षको पुण्य तिथीमा सोमबार पोखरामा विभिन्न कार्यक्रमको आयोजना गरिएको हो ।
सोमबार साँझ शहिदचोकमा दीप प्रज्वलन गरिएको प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडीले बताउनु भयो । उक्त कार्यक्रममा पत्रकार सहित नेताहरुको समेत सहभागिता रहेको थियो । दुबै पत्रकारको स्मृतिमा पुष्प अपर्ण सहित दिप प्रज्जवलन गरी उहाँहरुको स्मरण गरिएको प्रेस सेन्टर पोखरा महानगरपालिकाका अध्यक्ष शिवराज बस्ताकोटी(शिवदाई) ले बताउनु भयो ।
पत्रकार पौडेल नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य, पत्रकार महासंघ गण्डकीको संस्थापक अध्यक्ष तथा प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्ष र गण्डकी प्रदेशको इन्चार्ज हुनुहुन्थ्यो । शाही प्रेस सेन्टर नेपाल पोखरा महानगर कमिटीको सदस्य हुनुहुन्थ्यो । नेपाल पत्रकार महासंघ गण्डकी, कास्की र प्रेस सेन्टरको संयुक्त आयोजनामा सोमबार पोखरामा मृति सभा आयोजना भएको थियो । उक्त सभामा सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यति एयरलाइन्स विमान दुर्घटनामा निधन भएका ७२ जनाको स्मरणमा दुर्घटनास्थलमा स्मृति पार्क निर्माण गर्ने महानगरको योजना अनुसार स्तम्भ निर्माण भएको बताउनुभयो । उहाँले महानगरले ७२ जनाको नाम सहित स्मृति स्तम्भ निर्माण गरिएको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले विमान दुर्घटनाको न्यूनीकरणका लागि सहयोग पुग्ने गरी सञ्चारकर्मीले त्यसतर्फ कलम चलाउनुपर्नेमा बताउनु भयो । पत्रकार पौडेलको निधनले महासंघ केन्द्रलाई ठुलो क्षती पुगेको तथा एक कुशल समन्वयकर्ता गुमाएको उहाँले जनाउनु भयो ।
स्मृतिसभामा प्रेस स्वतन्त्रता सेनानीद्धय कोमलनाथ बराल, बद्रीविनोद प्रतीक, स्व पौडेलका दाजु उत्तम पौडेल, स्व शाहीका बुबा अशोक शाही, प्रेस सेन्टर गण्डकी प्रदेशका इन्चार्ज दीपक श्रेष्ठ, प्रेस चौतारी गण्डकीका अध्यक्ष इन्द्र पौडेल, प्रेस युनियन गण्डकीका महासचिव प्रकाश ढकाल, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष श्रीराम सिग्देल, पत्रकार महासंघ गण्डकीका अध्यक्ष नारायण शर्मा, महासचिव गोविन्द सुवेदी , कास्की शाखाका अध्यक्ष विमला भण्डारी लगायतले उहाँहरुको निधनले पत्रकारिता क्षेत्रलाई अपूर्णक्षति भएको उल्लेख गर्दै उहाँहरुले देखाएको बाटो अपलम्बन गर्नुपर्नेमा जोड दिनु भयो ।
यसैगरी स्व पत्रकारद्धयको स्मृतिमा सहिद पार्कमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ । प्रेस सेन्टर कास्की र पोखरा महानगर समितिको आयोजनामा भएको कार्यक्रममा नेकपा(माओवादी केन्द्रका) केन्द्रीय सदस्य राजकाजी गुरुङ, पोखरा महानगरका अध्यक्ष हरिनारायण गिरी, माओवादीका प्रदेश सचिवालय सदस्य विश्वप्रकाश लामिछाने, प्रेस सेन्टरका केन्द्रीय सचिव माधव पनेरु, पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, कास्की शाखाका अध्यक्ष विमला भण्डारी तथा स्व पौडेल र शाहीका परिवारजन तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी र पोखरा महानगरका अध्यक्ष शिवराज वस्ताकोटीले स्व पौडेल र शाहीको योगदानलाई सदा स्मरणीय बनाउने र उनीहरुका सपना पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
त्यस्तै नेकपा माओबादी केन्द्रले समेत पत्रकार पौडेलको स्मृतिमा श्रद्धान्जली सभा गरेको थियो ।