पोखरालाई छिटै पर्यटकीय राजधानी घोषणा गर्ने तयारी

-


     पोखरा क्लिक     
     पौष २६ गते २०८० मा प्रकाशित


पोखरालाई अब छिट्टै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । पर्यटन अध्ययन समितिले फागुन भित्रै पर्यटकीय राजधानी घोषणा गर्न सुझाव दिएकोले अब छिटै पोखरा पर्यंटनको राजधानि घोषणा हुने भएको हो ।

अध्ययन गर्न गठित समितिले कार्ययोजना सहित फागुनभित्र पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि आवश्यक घोषणा गर्न सकिने सुझाव गण्डकी प्रदेश सरकारलाई दिएको हो । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका लागि गठित अध्ययन समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रतिवेदन बुझाएको छ ।

पोखरालाई तत्काल पर्यटकीय राजधानी घोषणा गरेर प्राथमिकताका आधारमा पूर्वाधार निर्माण गर्दै जानुपर्ने निस्कर्षसहितको ४५ पृष्ठ लामो प्रतिवेदन समितिका संयोजक प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले मुख्मन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रतिवेदन बुझाएका हुन् ।

समितिका अनुसार माघ मसान्तसम्म पर्यटन क्षेत्रमा काम गर्ने संघ संस्था, पोखरा महानगरपालिका र नजिकका पालिकाहरुले राजधानी घोषणा गर्ने निर्णयसहित मुख्यमन्त्री कार्यालयमा पेस गर्ने कार्यसूची तोकिएको छ । माघभित्रै प्रदेश सरकारले सबै निर्णय एकीकृत गरेर राजधानी बनाउने सैद्धान्तिक निर्णय गर्नुपर्ने सुझावमा उल्लेख छ ।

समितिले डेढ महिना अध्ययन गरेर प्रतिवेदन बुझाएको हो । राजधानी घोषणा गर्नका लागि आवश्यक पर्ने पूर्वाधार, घोषणा पछि हुन सक्ने प्रभावबारेमा मसिनो गरी अध्ययन गरिएको संयोजक तथा गण्डकी नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले जानकारी दिए ।

गण्डकी सरकारले नीति तथा कार्यक्रम मार्फत नै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताएको थियो । समितिको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रतिवेदनले दिएको तालिका अनुसार नै काम गर्ने प्रतिबद्धता जनाए । अध्ययन प्रतिवेदन बुझाएसँग पोखराको पर्यटन व्यवसायीहरु उत्साही भएका छन् । राज्यले पोखरालाई पर्यटनको राजधानि घोषणा गरे अनुासारको भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने व्यवसायीको माग रहेको छ ।



This will close in 20 seconds