पोखरा २५, पुष
गण्डकी प्रदेश पौडी संघ तदर्थ समितिको अध्यक्षमा आनन्द कुंवर सर्वसम्मत चयन हुनु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आह्वानमा बुधबार पोखरामा सम्पन्न भएको एक भेलाले अध्यक्षमा कुंवर सहित १३ सदस्यिय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष कुंवर प्रशिक्षक हुनुहुन्छ ।
यसै गरी समितिको उपाध्यक्षमा कृष्णभक्त आचार्य, सचिवमा अनिल थापा, कोषाध्यक्षमा बबिता केसी कार्की चयन हुनु भएको हो । यसै गरी कार्यसमिति सदस्यमा जिवन रेग्मी, सूर्य बहादुर सिग्देल, विष्णु प्रसाद पाहारी, अर्जुन नेपाली, अमृत खड्का, रुवी तामाङ, महेन्द्र भुजेल, धर्मेन्द गिरी र राजेन्द्र अधिकारी रहनु भएको छ । भेलालाई सम्वोधन गर्दै परिषदका सदस्य सचिव श्रीधर शर्माले गण्डकी प्रदेशको पौडी खेलको विकास र खेलाडी उत्पादनमा नवगठित कार्यसमिति सफल हुनेमा आफू विश्वस्त रहेको दाबी गर्नु भयो । उहाँले प्रदेशका सबै जिल्लाहरुलाई जोडेर पूर्वाद्धार निर्माणका विषयमा समेत सरोकारवालाहरु संग सहकार्य गर्दै अघि बढ्न आग्रह गर्दै त्यसका लागि परिषद सहयोग गर्न तयार रहेको जनाउनु भयो । पोखरामा सुइमिङ पुल बनाउने अभियानमा सबै जुट्नु पर्ने उहाँको भनाई थियो ।
नवनिर्वाचित अध्यक्ष कुंवरले सबैको साथ, सहयोग र सहकार्यमा नै संघले आफ्ना योजनाहरु तय गर्ने बताउदै प्रदेशको पौडी खेल विकासमा आफ्नो महत्वपूर्ण योगदान दिने जनाउनु भयो ।