२०औँ संस्करणको स्पोर्टस अवार्ड आगामी माघ १२ गते हुने

-


     पोखरा क्लिक     
     पौष २२ गते २०८० मा प्रकाशित


काठमाडौँ २२, पुष

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा यस बर्ष हुने २०औँ संस्करणको स्पोर्टस अवार्ड आगामी माघ १२ गते हुने भएको छ ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड गरी नौ विधामा पुरस्कार प्रदान गरिने आइतबार पत्रकार भेटघाट कार्यक्रममा बताउनुभयो ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिनेछ । त्यसैगरी, लाइफ टाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डको विजेताको नाम भने पुरस्कार प्रदान गरिने दिनमा घोषणा गरिनेछ ।

यसपटक वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडीका विजेताले एक–एक थान पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । पहिलोपटक पाँच विधाका विजेताले बाइक पाउने भएका हुन् । त्यस्तै, अन्य विधाका विजेताले भने जनही रु ५० हजार पाउनेछन् ।



This will close in 20 seconds