पोखराका १ का वडा बासीलाई निःशुल्क योगा र जुम्बा

-


     दीननाथ बराल    
     पौष १९ गते २०८० मा प्रकाशित


पोखरा महानगरपालिका वडा नम्बर १ का स्थानियलाई हरेक शनिबार हप्तामा निःशुल्क योग शिविर तथा जुम्बा डान्स गराइने भएको छ । पोखरा महानगर १ वडा खेलकुद बिकास समितिको आयोजनामा पोखराको राष्ट्रिय मा. वि.को प्राङ्गणमा हरेक शनिबार योगा र जुम्बा कार्यक्रम हुने भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

टुडिखेलमा आऔं खेलौं, स्वस्थ बनौ भन्ने नाराका साथ आगामी पुष २१ गते देखी पहिलो चरणको ६ महिनासम्मको लागि उक्त कार्यक्रम संचालन हुने तयारी भएको पोखरा महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष शाहारा प्रधानले बताउनु भयो ।

हाम्रो आहार विहारमा समेत परिवर्तन आउदै जानुको साथै खाद्यान्न, तरकारी तथा फलफूल उत्पादनमा अत्याधिक मात्रामा विषादीको प्रयोग र खाद्य पदार्थमा हुने मिसावटले गर्दा, मानव स्वास्थ्यको क्षेत्रमा दिनानुदिन चुनौतीहरु थपिदै गइरहेको अवस्था आफ्ना वडाबासीलाई शारीरिक रुपमा केही हदसम्म भए पनि स्वस्थ्य रहन उक्त कार्यक्रम सुरु हुने भएको अध्यक्ष प्रधानले बताउनु भयो ।

समितिका सल्लाहकार एवं नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङले मोबाइल र टिभिमा बालबालिका देखि युवाहरु झुम्मि राखेको अबस्थामा यस्तो कार्यक्रमले घर बाहिर निस्कनमा थप मद्धत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

उक्त कार्यक्रममा करिब ५ सय जना सहभागि हुने आफुहरुले अपेक्षा गरेको समितिका अध्यक्ष बिष्णुकुमार गुरूङले बताउनु भयो । निःशुल्क रुपमा प्रत्येक हप्ताको शनिवार बिहान ६ ः ३० देखी ८ ः ३० बजे सम्म सामुहिक रुपमा व्यायाम गराउने कार्यक्रम गर्न लागिरहेको उहाँले जनाउनु भयो । शारिरीक तन्दुरुस्तीका लागि आयोजना गरिने व्यायामका लागि तमन्या गुरुङ सहित २ जना जुम्बा विज्ञ र भगवती सुवेदी योगा प्रशिक्षकको व्यवस्था गरिएको समितिले जनाएको छ ।

सबै उमेर समुहका वडा बासीहरुलाई शारिरीक व्यायाम र खेलकुद प्रति जनचेतना फैल्याउनु साथै वडा बासीहरुको स्वास्थ्य स्थितीमा सुधार ल्याउने उद्देश्यका साथ उक्त कार्यक्रम गर्न लागिएको समितिका सचिव अनिस गुरूङले बताउनु भयो ।