डि.एन.बी.
पोखरा ८, पुष
महोत्सवको गेट अगाडी फुटपाथ व्यापारी र पोखरा महानगरको नगर प्रहरी बिच झडप हुँदा लेखनाथ महोत्सव केही समय प्रभावित भएको छ । पोखराको तालचोकमा जारी १९ औं संस्करणको लेखनाथ महोत्सवको चौंथो दिन आईतबार करिब मध्यान्हः १२ः बजे देखि नगर प्रहरी र फुटपाथका व्यवसायीहरु बिच सामान्य भनाभन हुदै केही समय पछि एक आपसमा धकेलाधकेल हुदै झडप हुदा केही समय महोत्सव नै स्थगित गर्नु परेको थियो ।
महोत्सवको मुल गेट अगाडी झडप भएसंगै आइतबार दिउँसो केही समय महोत्सव स्थगित गरिएको महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले एटुजेडलाई बताउनु भयो । उहाँका अनुसार महोत्सव करिब ५ देखि ७ मिनेट स्थगित भएको थियो पछि महोत्सव सुचारु भएको हो । लेखनाथ महोत्सवको मुल गेट अगाडीको क्षेत्रमा फुटपाथ व्यपारीहरुलाई शनिबार नै नगर प्रहरीले सम्झाई बुझाई आइतबारबाट नआउन आग्रह गरे पनि उनीहरु पुनः फुटपाथमा व्यापार गर्न लागेकोले हटाउन खोज्दा झडपको अबस्था सृजना भएको थियो
आइतबार महोत्सव गेट अगाडी भएको झडपमा परी एक जना नगर प्रहरी जवान घाइते भएको पोखरा महानगरका नगर प्रहरी निरिक्षक पुरुषोत्तम थापाले बताउनु भयो । उहाँका अनुसार घाइते हुनेमा नगर प्रहरी जवान साजन लम्साल रहेका छन्। उनको टाउकोमा ढुंगाले लागेर टुटुल्को उठेको बताइएको छ । उनलाई ढुंगा प्रहार गर्ने आशंकामा एक व्यक्तिलाई प्रहरीले तत्काल पक्राउ गरे पनि पछि छाडिएको प्रहरीले जनाएको छ । उक्त झडपमा परी अन्य ५ जना नगर प्रहरी सामान्य घाइते भएको नगर प्रहरी निरिक्षक थापाले एटुजेडलाई बताउनु भयो ।
आईतबारसम्म उक्त महोत्सवमा १ लाख २५ हजार दर्शकहरुद्धारा अवलोकन गरेको आयोजक लेखनाथ उद्योग बाणिज्य संघले जनाएको छ । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको हो ।