पोखरा महानगर न्यायिक समितिका सदस्य भावना श्रेष्ठलाई आवश्यक कार्वाहीको लागि अख्तियारमा पठाउने

-


     पोखरा क्लिक     
     मंसिर २९ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा, २९ मंसिर

पोखरा महानगरपालिका न्यायिक समिति सदस्य भावना श्रेष्ठलाई आर्थिक लेनदेनमा संलग्न भएको आरोप पुष्टि गर्नको लागि अख्तियारमा पठाउने भएको छ । आर्थिक लेनदेन भएको समाचार बाहिरिए पछि आफै समितिबाट उहाँले राजीनामा दिनु भएको थियो भने पोखरा महानगरपालिका न्यायिक समितिले समेत बैठक बसी उहाँको बिषयमा सत्यतथ्य छानविन गर्न माग गरेको अबस्थामा पोखराका मेयर धनराज आचार्यले उक्त बिषयमा सम्बन्धित निकाय अख्तियारमा पठाउने भएको बताउनु भयो ।

मेयर आचार्यले आफुहरुले पनि विभिन्न संचार माध्यमबाटै पोखरा ९ का वडा सदस्य तथा न्यायिक समितिका सदस्य श्रेष्ठले आर्थिक लेनदेनको गरेको कुरा सार्वजनिक भएसंगै उहाँको आवश्यक कारवाहीको लागि अख्तियारबाट छानविन गर्न पठाउने तयारी गरेको जनाउनु भयो । आर्थिक लेनदेनको बिषयमा महानगरले भन्दा यसको अख्तियारी प्राप्त संस्थाबाटै सत्यतथ्य छानविन गर्न उचित हुने उहाँको भनाई थियो ।

पोखरा महानगरपालिका न्यायिक समितिका संयोजक मन्जुदेवि गुरुङले यस बिषयमा न्यायिक समितिका सदस्य श्रेष्ठको राजीनामा पत्र प्राप्त भएकोले राजीनामा र आर्थिक लेनदेनको बिषयमा आवश्यक कार्वाहीको लागि पोखराका मेयर धनराज आचार्य समक्ष पेश गरेको जानकारी दिनु भयो । पोखरा महानगरपालिका न्यायिक समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पोखराबाट संचालित विभिन्न सञ्चार माध्यममा प्रशारण र प्रकाशित समाचारमा न्यायिक समिति सदस्य भावना श्रेष्ठ आर्थिक लेनदेनमा संलग्न भएको भन्ने समाचार प्रति न्यायिक समितिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

समिति सदस्य भावना श्रेष्ठले पोखरा महानगरपालिका वडा नम्वर २६ बस्ने रविनकुमार श्रेष्ठ निवेदक र सोही ठाँउमा बस्ने नविनकुुमार श्रेष्ठ दोश्रो पक्ष रहेको बाटो निकास खुलाई पाउँ भन्ने विवादका निवेदक रविन श्रेष्ठसंग सो विवादमा दुुई(२) मिटर बाटो दिलाईदिन्छु भनि रकम लेनदेन गरेको भन्ने समाचार सञ्चार माध्यमहरुबाट सार्वजनिक भएको र पोखरा महानगरपालिका न्यायिक समितिका संयोजक, सदस्य, न्यायिक समितिको सचिवालयमा कार्यरत कर्मचारी तथा पूर्वकर्मचारीहरु समेतलाई रकम लेनदेन कार्यमा सम्वन्धित रहेको भनि उल्लेख भएको आरोप प्रति आपत्ति प्रकट समेत गरेको छ । समितिको सचिवालयमा कार्यरत कर्मचारीहरु तथा पूर्वकर्मचारीहरु यस्तो घृणित कार्यमा संलग्न संयोजक गुरुङले स्पष्ट पार्नु भएको छ ।

आर्थिक लेनदेन भएको समाचार २०८० मंसिर २२ गते शुक्रबार राती प्रशारण भए पछि शनिबार विहान १०ः३० बजे लेनदेनमा संलग्न भएको भनिएकी न्यायिक समिति सदस्य भावनाले समितिका संयोजक मञ्जुुदेवी गुुरुङ समक्ष राजीनामा दिइ सकेको र सो राजीनामाको विषयमा सोही दिन अपरान्ह ४ः३० बजे न्यायिक समिति सचिवालयको बैठक बसी राजीनामाका विषयमा र प्रशारण÷प्रकाशन भएका समाचारहरुका विषयमा आवश्यक छानविन गरी प्रचलित कानुून अनुसार कारबाहीको लागि नगर कार्यपालिकामा सिफारिस गर्ने निर्णय गरेको विज्ञप्ति मार्फत जनाएको छ ।

पोखरा वडा नम्बर २६ को विजयपुर स्थित घडेरीको विवाद मिलाइदिने भन्दै श्रेष्ठले २ लाख लिएको सार्वजनिक भएको थियो । रुपा गाउँपालिकाका कर्मचारी रविनकुमार श्रेष्ठको जग्गा विवाद न्यायिक समितिमा भएकोले उक्त विवाद मिलाइदिने भन्दै समितिको सदस्य रहनु भएको श्रेष्ठले २ लाखको चेक लिएको आरोप लागेको छ । श्रेष्ठले उपमेयर मन्जुदेवी गुरुङलाई समेत रकम दिनुपर्ने बताउनु भएको थियो । उपमेयर गुरुङले भने आफुलाइ लागेको आरोप अस्वीकार गरी सत्यतथ्य छानविन गरी आवश्यक कार्वाहीको माग गर्नु भएको छ ।