बोट बिरुवा रोप्ने लगाव

-


     पोखरा क्लिक     
     मंसिर २९ गते २०८० मा प्रकाशित


पोखरा, मंसिर २९

पोखरा आफैमा पनि एउटा प्राकृतिक छटाले भरिपूर्ण ठाउँ, त्यसमा पनि यहाँको शान्त फेवाताल र वरपरको हरियालीले झनै सुनमा सुगन्ध थपेको छ ।
हरियाली बोटविरुवा नै नहुदो हो त, फेवाताल जस्ता तालतालैया होला त, सायदै कसैले कल्पना पनि गरेका छैनौ ।

हामी जति यहाँको प्राकृतिक सौन्दर्यतामा हराएका छौँ, यसको उपयोग गरेका छौँ, के हामीले यसलाई संरक्षण र सर्वद्धन गर्ने काममा लागेका छौँ रु सामाजिक काम भन्दै रुख रोप्ने, वृक्षरोपण कार्यक्रममा सहभागि भएर रुख त रोप्यौँ, त्यसको अवस्था के भयो, सोचेका छौँ त सायदै एकादुइ बाहेक यस्तो कार्यक्रममा कहिले सहभागी भए भन्ने समेत थाहा हुदैन ।
आज हजुरहरुलाई एउटा यस्तो व्यक्तिको परिचय दिदै छु जो हरियाली जोगाउन हमेशा तत्पर हुनुहुन्छ,
उहाँ हुनुहुन्छ, सिताराम दाहाल, उमेरले अहिले ४८ बर्षको हुनुहुन्छ । ओखलढुंगा मुलुङ १, गैरीगाउँ स्थायी घर हुनुभएका दाहाल करिब २३ बर्षदेखि पोखराको राष्ट्रबैँकचोकमा ८९ बर्षिय आमा पवित्रादेवि, श्रीमती पार्वता र २ सन्तानका साथ बस्दै आउनुभएको छ ।

सहरी बिकास भवनमा सवारीचालकको रुपमा कार्यरत उहाँलाई बोटबिरुवा भनेपछि छुट्टै लगाव छ । बिरुवालाई हुर्काएमा पुण्य मिल्ने मान्यता उहाँ राख्नुहुन्छ । हरेक बिहान उहाँ करिब २ घण्टाको समय मुस्ताङचोक देखि राष्ट्रबैँकचोक, डेमसाइड, सहिदचोक लगायतका क्षेत्रमा रहेका सार्वजानिक बोटबिरुवालाई समय दिनुहुन्छ । अफिसको कामले कहिलेकाही नभ्याउँदा बाहेक अरु दिन उहाँ बोटबिरुवाको स्याहार गर्दै आफ्नो बिहानी बिताइ खाना खाएर आफ्नो कर्मतिर लाग्नुहुन्छ ।
कहिलेकाही मैले नभ्याएको बेला छोराछोरी पानी हाल्न जाने गर्दछन्, सायद यो कामबाट आफ्ना सन्तानलाई एउटा राम्रो संस्कार दिएको छु जस्तो लाग्छ । मैले बुवाबाट सिकेको यो पुण्यको काम मेरा छोराछोरीले पनि झिझो नमानी गर्छन्, श्रीमती सँगै बुढी हुनु भएकी मेरी आमालाई झार पलाएको देख्नै हुन्न्, गइहाल्नुहुन्छ, खुसी लाग्छ मेरो इच्छामा उनीहरुको साथ पाउँदा ।

सार्वजानिक स्थानमा रोपेका बिरुवाको संरक्षण र सर्वद्धन गर्दै बोटविरुवाको गोडमेल गर्ने, पानी हाल्ने, मरेको बिरुवा भए ठाउँमा नयाँ विरुवा लगाउने गर्नुहुन्छ ।
बिहान नित्यकर्म स्वरुप पारिवारिक श्रमदान गर्दै आएको बडो आन्नद साथ भन्दै हुनुहुन्थ्यो । उहाँले हर्रो, बर्रो, श्रीखण्ड, वरपिपल, स्वामी, कपुर, शिव फुल, रक्क्तचन्दन, सिताअशोक, लप्सी, गुल्मोहर, बेलपत्र, पलास, सतीसाल, पुत्राङ्ञ्जली, सिप्लीकान, विभिन्न जातका फुल, जडीबुटी बनस्पती लगायत सामान्य व्यक्तिले नसुनेका बोटबिरुवाको नाम लिदै कुनै–कुनै बोटबिरुवा १६÷१७ बर्षअघि रोपेको रुखमुनि मानिसहरु शितल लिदा मनमा एक किसिमको शितलता प्राप्त हुने बताउनुहुन्छ । बिशेष गरेर जडीबुटीजन्य बनस्पति बिरुवाहरु उहाँले सार्वजानिक ठाउँमा रोप्दै आउनुभएको छ ।

२०५७ सालदेखि छुटफुट रुख रोप्दै आएकोमा अहिले भने निरन्तर जसो बोटविरुवा रोप्ने, संरक्षण, सम्भार गर्ने गरेको बताउँदै पहिले नर्सरीबाट वनस्पतिजन्य बोटविरुवा लिने गरेकोमा पछिल्लो समय सामाजिक अभियान्ताहरुबाट, कृषि समेत बोटविरुवा पाउने गरेको उहाँ बताउनुहुन्छ । ‘ठूला रुखमुनि उम्रेका बिरुवालाई घरमा पोलिथिन भ्यागमा जमाएर राख्ने र विरुवा सार्न मिल्ने भएपछि बोटबिरुवा रोप्ने सार्वजानिक खाली ठाउँमा लगेर सार्ने गरेको छु । घरमा धेरै जातका बोटविरुवा छन्, मानौँ मिनी नर्सरी नै भएको छ । आफुले सार्वजानिक क्षेत्रमा लगाइएका बोटबिरुवाहरु हुर्कदा, पालुवा लगाउँदा, फुल फुल्दा यस्तो मनमोहक दृश्य र अनुभव सायदै मानस्पटलबाट बाहिर नै जादैन, त्यस्तो अुनुभुति हुने उहाँ भन्नुहुन्छ ।
मलाई यहाँको बोटबिरुवा आफ्नै फुलबारी हो जस्तो लाग्छ, कुटो, कोदालो, गोडमेलका सामाग्री, मल हाल्दै सबैलाई स्याहार, सम्भार गर्दै हिडेका पल सम्झिदै अहिले राष्ट्रबैँकचोको टुरिष्ट बसपार्क अगाडिको भाग र उच्च अदालत अगाडिको क्षेत्रमा प्राकृतिक सौन्दर्यरीकरण भएको मुस्कुराउँदै बताउनुहुन्छ ।

मुस्ताङचोकबाट राष्ट्रबैँकचोक हुदै डेमसाइड, सहीदचोक लगायतका सार्वजानिक स्थानका बोटबिरुवाको संरक्षणबाट पोखराको पर्यटन सँगै जलबायुमा परिरहेको नकरात्मक असरलाई केही कम गर्न एउटा इट्टा थप्ने काम भएको भन्दै हरेकले स्वयमबाट पनि सार्वजानिक क्षेत्रमा योगदान दिन सकेको भन्दै उहाँ मन बुझाउनुहुन्छ । घर भित्र र आगन मात्र सफा सुग्घर होइन, आफ्नो घर अगाडीका सार्वजानिक ठाउँलाई पनि सफा, सुग्घर र व्यवस्थि गर्न सक्छौ । समय सबैसँग त्यही २४ घण्टा त हुने हा,े समय व्यवस्थापन गर्दै घरपरिवारलाई साथमा लिएर सकरात्मक भइ हिडेको खण्डमा भगवान्ले पनि त आटँ म पुर्याउँछु भन्छ रे त्यसैले मन, मस्तिष्कमा सकरात्मक सोचेर हिड्यौँ भने परिवारले पनि साथ दिन्छ र हौसला पनि आउँछ ।
सार्वजानिक ठाउँमा रहेका विरुवाको स्याहारले पोखराको प्राकृतिक सौन्दर्यतालाई कायम राख्न, हरियाली, सफा, सुन्दर पोखरा बनाउन सिताराम दाहालले खेल्नु भएको भुमिका अतुलनीय छ ।