दीननाथ बराल
पोखरा २८, मंसिर
एसियाकै ठुलो स्याउ फार्म यति बेला बिबादमा तानिएको छ । विगत ११ बर्ष देखि निर्वात रुपमा संचालनमा आएको एग्रो मनाङ प्रा.लि. हाल बिबादमा मुछिएको हो । मनाङ डिस्याङ गाउँपालिका १ पिसाङमा रहेको एग्रो मनाङ प्रा.लि.ले कृर्ते डकुमेन्ट बनायर अवैध रुपमा एग्रो संचालन गरेको गण्डकी प्रदेश सभा सदस्य (सांसद) एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य राजिव गुरुङ (दीपक मनाङ्गे) ले आरोप लगाए ।
यता एग्रो मनाङका संचालक पोल्देन छोपाङले भने सांसद गुरुङले लगाएको आरोपमा कुनै सत्यता नभएको दाबी गरे । उनले केही दिन पछि आफुले पत्रकार भेटघाट कार्यक्रम मार्फत सार्वजनिक गर्ने बताउदै सांसद गुरुङलाई काठमाण्डौंमै गयर पत्रकार सम्मेलन गर्न चुनौती दिए ।
उक्त एग्रो मनाङ प्रा.लि.ले किर्ते कागज बनाई राज्यको करोडौं रकम अनुदानमा लगेको सांसद गुरुङले आरोप लगाए । एसियाकै ठुलो दाबी गरिएको मनाङ डिस्याङ गाउँपालिका १ पिसाङमा रहेको उक्त एग्रोले गैरकानुनी कागजात बनाएर दर्ता भएको राज्यका विभिन्न निकायबाट करोडौं रुपैंयाँ अनुदान समेत लिएको सांसद गुरुङले विहिबार पोखरामा पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराएका हुन्।
उक्त एग्रोले अनुमती विना जथभावी रुपमा रुखहरु काटेको सांसद गुरुङले आरोप लगाउदै राजनीतिक दलको आडमा स्थानिय जनतलाई र राज्यलाई किर्ते डकुमेन्ट बनायर उक्त एग्रो संचालन गरेको दाबी गरे । आफुले २४ दिन लागेर किर्ते डकुमेन्ट खोजेको दाबी गर्दै उनले अब उक्त एग्रो बिरुद्ध कानूनि उपचारको लागि समेत सबै निकायमा आफु जाने सांसद गुरुङले जनाए ।
नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले उक्त एग्रो मनाङ स्याउ वारीको उद्घाटन गर्न गएको र एमाले पार्टीबाटै संरक्षणमा धेरै अवैध काम भएको उनको दाबी थियोे । उनले भने “संस्था कसरी दर्ता भयो, ठिक रूपले सञ्चालनमा छ कि छैन, कागजपत्र ठिक छन् कि छैनन् भन्ने कुराको हेक्का नै नराखी अनुदान बाँडिनु राम्रो होइन, अब यसमा जो जसले राज्यको सम्पत्ति अनुदानमा दिनु भयो सबैलाई मेरो प्रश्न किन र कसरी अनुदान दिनु भयो, करोडौं रकम अनुदान पाए पछि यहाँ के गर्नु पर्छ मैले गर्छु । ”
सबै डकुमेन्ट कृर्ते बनायर केही गाउँले र मनाङ्ग मस्र्याङ्गदी क्लवलाई केही रकम दिएको भरमा गाँउमा हालीमुहाली गरेको सांसद गुरुङको आरोप छ । मनाङ प्रालिले ७ सय ३४ रोपनी जग्गाको अवैधानिक अनुमति लिएर ८ सय २५ भन्दा बढी रोपनी जग्गा भोगचलन गर्दै आएको उनले जनाए । उक्त एग्रो फामले वन फडानी सहित सार्वजनिक जग्गा मिचेको सांसद गुरुङको आरोप छ ।
गाउँपालिका अध्यक्ष पहिला नै सम्झौता भएको थियो
यस बिषयमा मनाङको डिस्याङ गाउँपालिका अध्यक्ष कान्छा गुरुङले आफुहरु निर्वातिच भएर आउनु पूर्व देखि नै उक्त एग्रो फाम संचालन भएकोले त्यसको बारेमा हाल आफुहरुले केही गर्न नसकेको एटुजेडलाई बताए । रुख बिरुवा कटानको बिषयमा केही भाग एग्रोले सम्झौता गरेको र केही भाग स्कुलसंग सम्झौता गरेको आधारमा काटिएको उनले जनाए ।
छोपाङले सांसद गुरुङलाई काठमाडौंमा पत्रकार सम्मेलन गर्न चुनौती
उक्त एग्रो फार्मका संचालक पोल्देन छोपाङले स्थानिय ७ गाँउ र मनाङ्ग मस्र्याङ्गदी क्लवसंग २७ बर्षको लागि एसियालकै ठुलो स्याउ खेती गर्न उक्त जग्गा भाडामा लिएको एटुजेडलाई बताए । एग्रोले रुख बिरुवा काटेको आरोप छ नी भन्ने हाम्रो प्रश्नमा उहाँले उक्त जग्गा एक्याप र स्कुलबाट समेत अनुमती लियर आफुले स्याउ खेति संरक्षण र विस्तारको लागि कटाउन गरेको दाबी गरे । आफुले बार्षिक रुपमा ५७ लाख ७७ हजार ७ सय ७७ रुपैया भाडा बुझाउने जसमध्य ६० प्रतिशत क्लव र ४० प्रतिशत समाजलाई बुझाउने गरेको छोपाङले बताए । सांसद गुरुङलाई कुकुरले भुकेसरी पोखरामा पत्रकार सम्मेलन गरेर अनावश्यक रुपमा आफ्नो वदनाम गरेको दाबी गर्दै छोपाङले काठमाडौंमा गएर पत्रकार सम्मेलन गर्न चुनौती दिए । केही दिन पछि आफुले बृहत पत्रकार सम्मेलन गर्ने बताए । आफुले विगत ११ बर्ष देखि उक्त फार्म संचालन गर्दै आएको अबस्थामा सांसद गुरुङलाई प्रश्न गर्दै उनले अहिलेसम्म के हेरेर बसेको भन्दै प्रति प्रश्न गरे । यस बर्ष करिब साँढे २ लाख केजी स्याउ उत्पादन गरेको दाबी गर्दै छोपाङले हाल आफुले ६५ हजार स्याउका बिरुवा उक्त क्षेत्रमा र माथिल्लो मनाङमा ४५ हजार स्याउका बिरुवा लगाएको दाबी गरे ।