विश्वकर्मा समाज पर्वत, स्याङ्जा कास्कीको बैठक सम्पन्न, देउसी भैलोको केही रकम भूकम्प प्रभावितलाई दिने

-


     पोखरा क्लिक     
     मंसिर २४ गते २०८० मा प्रकाशित


पोखरा, २४ मंसिर

विश्वकर्मा समाज (पर्वत, स्याङ्जा, कास्की) को बैठक चन्द्र किशोर गौतमको अध्यक्षता एवम् नेपाल सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष दुर्गा बहादुर सुनारको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

कार्यक्रममा २०८० सालको तिहारको अवसरमा संचालन गरिएको देउसीभैलो कार्यक्रमबाट संकलन भएको रकमको सार्वजनिक कोषाध्यक्ष धनबहादुर सुनारले गर्नुभएको थियो । उक्त देउसी भैलो कार्यक्रमबाट रु.३ लाख १ हजार ९ सय ८ र आजीवन सदस्यताबाट रु.६० हजार गरी रु(३ लाख ६१ हजार ९ सय ८ रुपैयाँ आम्दानी भएको थियो । यसै आम्दानीबाट जाजरकोटमा भएको विनासकारी भुकम्प पीडितलाई राहत स्वरुप रु.२५ हजार छुट्याइएको कोषाध्यक्षले जानकारी गराउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि दुर्गा बहादुर सुनारले यो देशको परिवर्तनमा विश्वकर्माहरुको ठूलो योगदान भएको बताउँदै २००७ साल, ०४६ साल र ०६२।०६३ मा यस समुदायका मानिसहरुले पनि आहुति दिएको, फलस्वरुप नयाँ संविधान भएको छ तर दलित बर्गको लागि संविधान कार्यान्वयन नभएको बताउनुभयो । उहाँले रुकुम हत्याकाण्डमा म कास्कीको प्रमुख रहेर आन्दोलन गरिएको तर आज नवराज विकका हत्याराहरु जेल चलान भएका छन् यसले न्याय अझै रहेछ भन्ने प्रमाण दिएको बताउनुभयो । यस्ताखाले समस्यामा यो समाज सदैव लागि रहनेछ भन्ने विश्वास लिएको बताउनुभयो ।

शुभकामना मन्तव्यको क्रममा सल्लाहकार एवम् महाशिला गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष रामबहादुर सुनारले यस समाजले अहिलेसम्म गरेका कार्यहरु एकदम सही भएको तर दिन दुखी विश्वकर्माहरुकोमा पुगेर उनीहरुका समेत हक अधिकार र पीडामा साथ दिन अनुरोध गर्नुभयो । विश्वकर्मा कल्याण समाजका उपाध्यक्ष राजकुमार घिमिरेले समाज स्थापनाको छोटो समयमा महिलाहरुको संगठन बनाई अगाडि बढाएको र महिला उत्कृष्ट भेषभूषमा पुरस्कृत भएकोमा खुसी लागेको बताउँदै युवाहरुलाई र नवप्रतिभाहरुलाई प्रोत्साहन गर्ने जसता कार्यले उच्च स्थान बनाएको बताउनुभयो ।

विश्वकर्मा सेवा समाजका महासचिव तारा गौतामले समाजका सबै गतिविधिमा अगाडि रहेको र स्याङ्जाली सम्पर्क समाज लगायत अन्य संस्थाहरुमा सहकार्य गर्दै अगाड बढेको अवस्थामा अझ दिदी बहिनीहरुलाई सीपमूलक, आयमूलक तालिम दिन आवश्यक रहेको बताउनुभयो । उहाँले त्यसको लागि आफूले सक्दो सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

महिला समितिका सचिव गीता गौतमले समाजले आयोजना गरेका हरेक कार्यक्रममा महिला समितिको अहम भूमिका रहेको बताउँदै महिलालाई विभिन्न प्रकरका तालिम दिई अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रमक सभाध्यक्ष किशोर गौतमले समाज स्थापनाको छोटो अवधिमा विभिन्न कार्यक्रमहरु गर्दै समस्त विश्वकर्माहरुको मन जित्न सफल भएकोले अब यस समुदायको विकास र उन्नतिमा तिनै तहका सरकारसँग मिलेर कार्य गर्ने र विश्वकर्मा समुदायको समस्यामा ठाउँको ठाउँ उपस्थित भई समस्या समाधानमा अग्रसर रहने बताउनुभयो । उहाँले अन्य उपसमितिहरु गठन गर्ने, स्वास्थ्य, शिक्षा, रोजगार, सीप सिर्जनामा अगाडि बढाउने र सदस्यहरुलाई राहत प्याकेजमा सहयोग गर्ने बताउँदै तिहारको अवसरमा सहभागी हुने र सहयोग गर्नेप्रति कृतज्ञ रहेको बताउनुभयो ।

समाजका सचिव खड्कबहादुर सुनारले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष श्याम बहादुर रसाइलीले देउसी भैलोमा अहोरात्र खटेर कार्य गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो ।