दीननाथ बराल
पोखरा २३, मंसिर
पोखरा २२ (पुम्दीभुम्दी) स्थित पुम्दीकोटमा रहेको बिशाल महादेव मुर्ति परियोजनाका मुख्य दाता उद्योगीपति, समाजवेसी पर्सा विरगन्ज निवासी मुरलीधर रुङगटा सम्मानित हुनु भएको छ । पुम्दीकोट कोट विकास समितिले शनिबार बिशाल महादेव मुर्ति परिसरमा आयोजना गरेको सम्मान तथा भजन चुड्का प्रतियोगिताको अवसरमा ८६ बर्षीय रुङगटालाई बिषेश सम्मान गरेको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथी पिठाधिस अनन्त बिभूषित महामण्डलेश्वर आत्मानन्द गिरीजी महाराज र समितिका अध्यक्ष चन्द्रकान्त बरालले सम्मानपत्रको साथमा दोसल्ला ओढाई, खादा मालाले उहाँलाई सम्मान गर्नु भएको हो । दानविर, समाजसेवी एवम उद्योगपति मुरलीधर रुङ्गटाले बिशाल महादेव मुर्ति परियोजनामा १ करोड ५० लाख भन्दा बढी जुन रकम उक्त परियोजनाको सबै भन्दा बढि आर्थिक सहयोग रहेकोले उहाँलाई बिषेश सम्मान गरिएको समितिले जनाएको छ ।
मुरलीधर रुङ्टा मारवाडी सेवा समिति वीरगञ्ज, रुङ्टा वेलफेयर सोसाइटी र चौसटी अठी सदन मन्दिरका अध्यक्ष हुनु हुन्छ । मारवाडी सेवा ट्रष्टका उपाध्यक्ष एवम राष्ट्रिय मारवाडी सेवा समितीका केन्द्रिय सदस्य रुङ्गटाज्युको रुङ्गटा कान अस्पताल विरगञ्ज, आमाको माया चत्रवास विरगञ्ज र अग्रवाल भवन काडमाण्डौमा लगानी रहेको छ । विरगञ्जमा प्रत्येक वर्ष स्वास्थ शिविर संचालन गर्नु गर्दै आउनु भएको मुरलीधर रुङ्गटा, ओम चावोविरो फिड, ओ.सि.डी. फुड तथा दाना, ओम एग्रो प्रोडक्ट र रुङ्गटा प्रोसेसिङ्ग जस्ता धेरै उत्पादनमुखी व्यवसायिक कारोवारमा आवद्ध हुनु भएको छ । समितिले मुरलीधरलाई उक्त परियोजनाको प्रमुख सरक्षकको रुपमा प्रस्ताव गरिएको समितिका दुर्गाबहादुर गुरुङले बताउनु भयो ।
मधेश प्रदेश पर्सा जिल्ला विरगञ्ज उपमहानगरपालिका वडा नं. १० निवासी स्व.पिता रामेश्वरलाल रुङ्गटा र स्व.माता भवानी देवी रुङ्गटाको कोखबाट १९९७ सालमा मुरलीधरको जन्म भएको हो । पुम्दीकोट क्षेत्रको ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्वलाई थप उजागर गरी समग्र क्षेत्रको बिकास तथा प्रबर्दन गर्ने उदेश्यले पर्यटन प्रबर्धनका लागि पुम्दीकोट, बिशाल महादेव मूर्ति निर्माण गर्ने हाम्रो अठोट भन्ने नारा सहित कोट बिकासको अभियान शुरु गरी २०७३ साल र २०७९ सालमा गरी दुई पटक शिव महापुराण ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सब समेत आयोजना भएको समितिले जनाएको छ । उक्त महायज्ञबाट २० रोपनी जग्गा र करिब ९ करोड ३० लाख रुपैया संकलन भएको अध्यक्ष बरालले जनाउनु भयो ।
उक्त परियोजनामा हालसम्म झण्डै २७ करोड लगानी भैसकेको र करिब १ करोड ऋणको व्ययभार समेत भएको अध्यक्ष बरालले जनाउनु भयो । परियोजनाका परिमार्जित गुरुयोजनामा सुमेरु पर्बत नामकरण गरी भूमेश्वर महादेव देखि सुमेरु पर्बतसम्म पंहुचका लागि विधुतीय चियर कार, ग्रिनेरी पार्क, ब्यबस्थित पार्किंग स्थल निर्माण गर्ने बिषयहरु समेटिएको उहाँले बताउनु भयो । गण्डकी प्रदेशका पूर्व अर्थ मन्त्रि रामजी प्रसाद बराल जीवनले कसैले पनि इतिहासलाई विर्सन नहुने बताउदै उक्त बिशाल महालदेवका मुर्ति निर्माणमा पहिला भुम्दीकोट टावरबाटै यसको सुरुवात भएको उहाँले बताउनु भयो । बिषेश गरी आफ्नो पहलमा शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट उक्त टावर निर्माणमा सहयोग प्राप्त भएको उहाँको भनाई छ । हाल उक्त टावरलाई डम्बरुको आकारमा परिमार्जन गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रकाश बराल, समाजसेवी एवं उद्योगपति हरि पाण्डे, पोखरा २२ का वडा अध्यक्ष हिमलाल बराल, स्वामि गुरुहरु सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।