दीननाथ बराल
पोखरा २०, मंसिर
आयोजकको लापरवाहीले पदाकधारी खेलाडी निसिम थापाको दुर्घटनामा परी मुत्यु भएको निसिम थापा फाउण्डेसनका अध्यक्ष प्रकाश थापा एवं उहाँको परिवारले दाबी गर्नु भएको छ । गत बर्ष असोज ३० गते नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री विधाको प्याराग्लाइडिङ प्रतिस्पर्धाका क्रममा आयोजक संस्था राखेप सहितका अन्य संस्थाको त्रुटिका कारण दुर्घटनामा परी पदकधारी खेलाडी थापाको मृत्यु भएको फाउण्डेसनका अध्यक्ष प्रकाश तथा उहाँको परिवारले बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताउनु भएको हो ।
प्याराग्लाईडिङ उडानको अनुमती विना उक्त प्रतियोगिता संचालन गर्दा देशको लागि पदक दिएको खेलाडी थापाले अनायक मा ज्यान गुमाउनु परेको खेलाडी थापाका बाबु समेत रहनु भएका अध्यक्ष थापाले दाबी गर्नु भयो । उक्त घटना भएको एक बर्ष १ महिना २० दिन वित्दासम्म पनि आफ्नो देशको लागि पदक दिलाउने खेलाडीको मुत्युको बिषयमा सत्यतथ्य बाहिर ल्याउन नसकेको हालसम्म उक्त घटनाको छानविन र दोषी उपर कारवाहीको कुनै प्रकृया अघि नबढाएको भन्दै प्रकाशले नेपालको कानून अनुसार दोषी उपर कारवाहीको माग गर्नु भएको छ । आफ्नो एक्लो छोरा गुमाउनुको पिडामा बाबु प्रकाश, निसिमकी आमा सावित्री मुक्तान कार्यक्रममा निकै भावुक हुदै राज्यले जवसम्म दोषी उपर कारवाही गर्दैन तवसम्म आफुहरु आवश्यक प्रमाण सहित कानूनि प्रकृयामा अघि बढ्ने उहाँहरुले दाबी गर्नु भएको छ ।
अध्यक्ष प्रकाशले भन्नु भयो, “ निसिमको प्याराग्लाईडिङ दुर्घटनामा परी मृत्यु भएको घटना हाम्रो लागि ठुलो होला तर निसिम जस्ता धेरै खेलाडीहरुको ज्यान जोखिममा राखेर आयोजकले बजेट झ्वाम पार्ने संस्कार कहिलेसम्म रहन्छ, यसको अन्त्य गर्दै दोषीलाई कारवाही हुनु पर्छ भन्ने हाम्रो माग छ । ” नेपाल प्याराग्लाइडिङ एन्ड ह्याण्डग्लाइडिङ (नेफा) का तत्कालीन पदाधिकारीहरु रुप नारायण श्रेष्ठ, शैलेन्द्र राउत तथा इन्द्र भण्डारी, नेपाल हवाई खेलकुद संस्था नाका अध्यक्ष सुनिल बहादुर भट्टराई, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा तत्कालीन युवा तथा खेलकुद मन्त्री महेश्वरजङ गहतराज लगायतको गम्भीर लापरवाही तथा सराङकोट स्थित केसी कन्स्ट्रक्सन भित्र रहेको ब्लुस्काई टेकअफ जोन र उक्त साईटमा केसी कन्स्ट्रक्सनको समेत दुर्घटनामा दोषी रहेको अध्यक्ष प्रकाशको आरोप छ ।
पोखरा महानगरपालिकाको अनुमति बिना जोखिमयुक्त भवन संरचनाहरु निर्माण गरिरहनु र सोही जोखिम स्थानमा नागरिक उड्डयन प्राधिकरणको अनुमति बिना प्रतियोगिता सन्चालन गरिनुको कारण पाइलट निस्सिम थापाको दुर्घटनामा परी मृत्यु भएको फाउण्डेसनको आरोप छ । नेपाल प्याराग्लाइडिङ एन्ड ह्याण्डग्लाइडिङ (नेफा) का पदाधिकारीहरुद्वारा रकम दुरुपयोग समेत गरेको अध्यक्ष थापाको आरोप छ । नेफाले नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ प्रतियोगिताका विजेताहरुलाई हालसम्म कुनै नगद पुरस्कारको व्यवस्था नगरेको उहाँले गुनासो गर्नु भयो ।
यस बिषयमा नाका अध्यक्ष सुनिल भट्टराईले आफुहरुको खेल भन्दा पनि व्यवसायीक संस्था भएकोले गर्दा खेलको क्रममा भएको सम्पूर्ण जिम्मा आयोजक संस्थाले लिनुपर्ने बताउनु भयो । विभिन्न प्याराग्लाईडिङ कम्पनीमा आबद्ध भएका पाइलटहरुले टेण्डम तथा सोलोको बिमा गर्ने गरेको बताउदै उहाँले नाले त्यसको सहजीकरण मात्र गर्ने गरेको बताउनु भयो । उहाँले भन्नु भयो“ निसिमका बाबु प्रकाशसंग स्वभाविक रुपमा आफ्नो छोरा गुमाएको पिडा छ तै पनि उहाँले हामीलाई धेरै पटक हप्काउदै आउनु भएको छ, यसमा हामी नजवाफ भएका छौं, राज्यले गरेको खेलको जिम्मा राज्यले नै लिनु पर्छ ।”
प्याराग्लाईडिङका राष्ट्रिय प्रशिक्षक योगेशबहादुर भट्टराईले राष्ट्रिय प्रतियोगिताको क्रममा निसिमको उडान भए लगत्तै प्याराग्लाईडिङ कोल्याप्स (ग्लाडर बन्द) हुदा दुर्घटना हुन पुगेको बताउनु भयो । निसिम थापा अन्य खेलाडी भन्दा उत्कृष्ट खेलाडी भएको स्मरण गर्दै उहाँले निसिमको निधनले आफुहरु निकै विछिप्त भएको जनाउनु भयो । राज्ले दिएको जिम्मा आफुले उक्त प्रतियोगितामा पुरा गरेको उहाँको भनाई छ ।
नेफाका शैलेन्द्र राउतले नेपाल सरकार अन्र्तगतको राखेपले आयोजना भएको खेलमा कहाँ कहाँ अनुमती लिनुपर्ने हो त्यो राज्यका निकायले जान्ने कुरा भएको एटुजेडलाई बताउनु भयो । राखेपबाट केही रकम पेस्कीको रुपमा ल्याए पनि त्यसको फस्यौट गर्न प्राविधिक कारणले गर्दा ढिलाई भएको अबको केही समयमा त्यसलाई मिलाउने उहाँको भनाई थियो । केसी कस्ट्रक्सनका किरण केसीले पोखराको आकासमा प्याराग्लाईडिङको क्रममा दुर्घटनामा परी मृत्यु हुनु भएको निसिम थापाको घटनाले आफुहरुलाई समेत पिडा भएको बताउनु भयो । उक्त प्रतियोगिता स्थल करिब ८० प्रतिशत जसो भाग आफुहरुको पर्ने भए पनि प्रतियोगिताको लागि शान्ति सुरक्षाको दृष्टिले ठिक वा बेठिक पहिलानै आफुहरुलाई कसैले पनि सोध पुछ नगरेको बताउनु भयो ।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुषालले नवौं राष्ट्रिय खेलकुदको क्रममा पोखराको आकासमा प्याराग्लाईडिङ गर्दा कानूनि रुपमा कसैले पनि अनुमती नलिएको बताउनु भएको छ ।
यता राखेप सदस्य सचिव टंकलाल घिसिङले यस बिषयमा आफुहरुले सम्बन्धित खेल संघहरुलाई नै जिम्मा लिएकोले त्यसको सबै कानूनि प्रकृया उनीहरुले गर्नुपर्ने बताउनु भयो । मन्त्रिपरिषदले गरेको निर्णय अनुसार उक्त प्रतियोगिता संचालन भएको बताउदै उहाँले सहासिक खेलमा प्राविधिक त्रुटीका कारण निसिमलाई राज्यले गुमाउनु पर्दा आफुहरु निकै दुखि भएको एटुजेडलाई जनाउनु भयो । उहाँको स्मृतिमा पोखरा रंगशालामा निसिमको शालिक निर्माण हुदै गरेको सदस्य सचिव घिसिङले बताउनु भयो । निसिम परिवारले राखेप अन्र्तगत खेलाडी दुर्घटना बिमाबाट १० लाख, नेपाली सेनाबाट ५ लाख, फाउण्डेसनमा थप ५ लाख प्राप्त गरेको छ ।