पोखरा १९, मंसिर
पोखरामा रहेको मित्र मिलन बचत तथा ऋृण सहकारी सस्थाका पिडितहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिन जिल्ला प्रहरी कार्यालय कास्कीले आव्हान गरेको छ । मंगलबार सूचना जारी गर्दै कार्यालयले पोखरा ९ नयाँबजारमा संचालनमा रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेका र सहकारीको रकम हिनामिना एवं ठगी गरेर फरार रहेकाले उक्त सहकारीबाट पिडित भएको प्रमाण सहित उजुरी दिन आग्रह गरेको हो ।
त्यसै गरी सहकारीका संचालहरु माथि कारबाही गरी पाउँ भनि बचतकर्ताहरुले यस कार्यालयमा सहकारी ऐन शीर्षकमा जाहेरी दरखास्त पेश गर्नु भएकोले उक्त जाहेरी दरखास्त दर्ता भई अनुसन्धानको क्रममा रहेकोले उक्त सहकारी संस्थामा बचतकर्ता रही सहकारीबाट बचत रकम फिर्ता नपाउनु भएको र यस कार्यालयमा जाहेरी दरखास्त दिन बाँकी रहनु भएका पीडित बचतकर्ताहरुले सहकारीमा रकम जम्मा गरेको आधार देखिने पासबुक, भौचर, स्टेटमेन्ट, मुहतो प्रमाण पत्र लगायतको प्रमाण पेश गर्न प्रहरीले अनुरोध गरेको हो ।
सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागज सहित कानून बमोजिम सहकारी ऐन शीर्षकमा जाहेरी दरखास्त लिई यस जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्नु हुन सम्पूर्ण बचतकर्ताहरूमा सूचना जारी गरेको कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । प्रहरीले मुद्दाको हदम्याद मध्यनजर गर्दै यही मंसिर २७ गतेसम्म जाहेरी दरखास्त दिन आग्रह गरेको हो ।
निक्षेपकर्ताको बचत ठगी गरेको आरोपमा पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदी सहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरि सकिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख श्रवणकुमार विकले बताउनु भयो । त्यसै गरी वडाध्यक्ष सुवेदी सहित उपाध्यक्ष तथा पत्रकार विजय लम्साल, सहकारीका पूर्व लेखा सदस्य तथा पत्रकार अर्जुन गिरी, कानुन व्यवसायी जनकल्याण पराजुली लगायतलाई पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।
पक्राउ पुर्जी जारी भएकाहरूको खोजी कार्य भई रहेको निमित्त प्रमुख विकले बताउनु भयो ।
यस अघि सहकारीका अध्यक्ष रमण पौडेल र प्रवन्ध निर्देशक किरण अधिकारीलाई बैंकिङ कसुरमा पक्राउ परी प्रहरीले हिरासतमै राखेको छ । उहाँहरु गत कात्तिक ४ गते पक्राउ पर्नु भएको थियो । उक्त सहकारीका सञ्चालक र अन्य मिलेर करिब २६ करोड रकम हिनामिना पारेको आरोप लागेको छ ।