दीननाथ बराल
पोखरा १८, मंसिर
आउदो पुष १४ गते देखि पोखरा कप अन्तर क्लव स्तरिय खुला पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको छ । आउदो पुषको १४ देखि १६ गतेसम्म पोखरा ६ लेकसाइडमा रहेको बसुन्धरा पार्कमा उक्त प्रतियोगिता हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
रेवान पोखराको २५ औं सडक महोत्सवको अवसरमा उक्त प्रतियोगिता हुने भएको पोखरा महानगरपालिका भलिबल संघका अध्यक्ष राम बहादुर लामिछानेले बताउनु भयो । प्रतियोगितामा करिब १२ टिमको सहभागिता हुने आफुहरुले अपेक्षा गरेको उहाँले जनाउनु भयो । पोखरा महानगरपालिका भलिबल संघको आयोजना, पोखरा महानगरको प्रबद्र्धन, पोखरा महानगरपालिका खेलकुद विकास समितिको समन्वयमा उक्त प्रतियोगिता पहिलो पटक हुन लागेको हो ।
प्रतियोगितामा विजेता टिमले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले टिमले भने ७७ हजार ७ सय ७७ को साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने भएको छ । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद १० हजार प्रदान गरिने भएको छ भने विभिन्न विद्यागत रुपमा उत्कृष्ट हुने वेष्ट स्पाइकर, वेष्ट सर्भर, वेष्ट सेटर, वेष्ट डिफेन्डर र वेष्ट ब्लकरलाई जनही नगद ३ हजारका साथमा ट्रफी र प्रमाणपत्र उपलब्ध गराइने भएको सचिव युवराज गुरुङले बताउनु भयो ।
प्रतियोगितामा क्लवहरुले एक टिममा दुई जनासम्म राष्ट्रिय खेलाडी समावेश गर्न पाउने भएका छन्। ‘स्रस्टालाई सम्मान, नयाँ पुस्तालाई प्रोत्सहान’ भन्ने मुल नाराका साथ आयोजना हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करिव ८ लाख ९० हजार रुपैयाँ खर्च लाग्ने आयोजकको जनाएको छ । खेलाडीहरुलाई आफुभित्र अन्तर्निहित खेल प्रतिभा र क्षमता प्रस्फुटन गर्ने महत्वपूर्ण अवसर प्राप्त हुने अध्यक्ष लामिछानेले बताउनु भयो । उक्त सडक महोत्सवको अवसरमा हुने उक्त खेलमा करिब २० हजार दर्शकले खेल अवलोकन गर्ने भएको भलिवल खेलाडी सविन गुरुङले एटुजेडलाई बताउनु भयो ।