पोखरा १५, मंसिर
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पाँचौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा ११ माध्यमिक विद्यालयका कुल ३ सय ८३ विद्यार्थी सहभागि हुने भएका छन ।
उक्त प्रतियोगितामा ३० वटा खेलहरु समेटिएको छ ।
एक समारोहका बिच विहिबार प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले अनुशासनपूर्वक खेल प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गर्दै खेल क्षेत्रमा पनि भविष्य रहेको बताउनु भयो । स्वास्थ्यका लागि खेल महत्वपूर्ण हुने भन्दै खेलको बृद्धि विकासमा पालिका चनाखो रहेको बताउदै उहाँले शिक्षाको गुणस्तरमा खेलको भूमिका रहने उपाध्यक्ष अधिकारीको भनाई थियो ।
प्रतियोगिता अन्र्तगत बिहीवार मार्चपास, रिले दौड, भलिवल भएकोमा मार्च पासतर्फ शारादा मावि पहिलो, महेन्द्र मावि दोस्रो साथै शुक्लागण्डकी मावि तेस्रो भए । त्यस्तै छात्र १ हजार ५ सय मिटर दौडतर्फ महेन्द्र माविका कुलबहादुर नेपाली प्रथम, बराह माविका सुदिप परियार द्वितीय साथै उदय माविका सन्दिपराज कुमाई तृतीय हुन सफल भए।
त्यसैगरी छात्रा १ हजार ५ सय मिटर दौडमा महेन्द्र माविकी एलिसा परियार पहिलो, उदय माविकी रेजिना रसाइली दोस्रो तथा पृथ्वीनारायण माविकी सुमा विक तेस्रो साथै ४ सय मिटर दौडमा महेन्द्र माविका अरुण परियार प्रथम, निश्पक्ष माविका आशा बुढाथोकी मगर द्वितीय साथै पृथ्वीनारायण माविका आविश्कार विक तृतीय भएको शिक्षा शाखा प्रमुख सम्झना पोखरेलले जानकारी दिनुभयो । गाउँपालिका सामाजिक विकास समिति संयोजक हरीबहादुर क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले स्वागत र महेन्द्र माविका प्रधानाध्यापक जगन्नाथ अधिकारीले कार्यक्रम संचालन गर्नु भएको हो ।
हरेक विद्यामा प्रथम हुने विद्यालयले रु।१५ हजार, द्वितीयले १० हजार साथै तृतियले ७ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । लाहाचोक स्थित महेन्द्र मावि खेल मैदानमा संचालन उक्त प्रतियोगिता अवधिका लागि सहभागी विद्यार्थीहरुको बिमा समेत गरिएको छ ।