दीननाथ बराल
पोखरा १२, मंसिर
पोखराको ऐतिहासिक तथा पुरानो बिद्यालय राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा यस बर्ष हीरक जयन्ती मनाउने तयारी गरेको छ । पोखरा १ पुरानो टुँडिखेलमा रहेको बिद्यालय यही मंसिर २० प्रभातफेरी सगै शुभारम्भ कार्यक्रम गर्ने भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
प्रभातफेरी कार्यक्रम विद्यालय स्थापना भएको पोखरा ३ नदिपुर स्थित नारायण स्थान मन्दिरबाट सुरु गरिने भएको बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष राम बिक्रम राणाले बताउनु भयो । प्रभातफेरी कार्यक्रमका संयोजक महेन्द्र श्रेष्ठले नदिपुरबाट सुरु हुने प्रभाफेरीमा पञ्चे बाजा सगै सरस्वतीको झाँकी सगै ७५ जना विद्यार्थीहरु विभिन्न भेष भुषामा उतार्ने उल्लेख गर्नु भयो ।
विद्यालयका जग्गदाता रत्नाखर पराजुली र पराजुली परिवार र विद्यालय स्थापना हुदा रहेका संचालक समितिका व्यक्तीहरुको फोटो राखिने भएको छ । २००६ सालदेखी २०७८ सालसम्मका प्रत्येक व्याचको प्ले कार्ड सहित पुर्व विद्यार्थीहरु, विभिन्न जात जातिका झाँँकी सहित नदिपुरबाट निस्केको प्रभातफेरी र्याली पालिखेचोक, तेस्रापट्ी, नालाकोमुख, भिमसेनटोल, बागबजार हुदै विद्यालय परिसर पुरानो टुँडिखेलमा आएर हीरक जयन्ती शुभारम्भ सभामा परिणत हुने भएको छ ।
स्वास्थ्य उपसमितिको संयोजकमा डा.वसन्त ताम्राकार, मञ्च व्यवस्थापनमा रमेश प्रसाद पौडेल, प्रचार प्रचारमा नारायण प्रसाद चापागाई, जलपानमा वरुण विक्रम राणा रहनु भएको छ । भवन निमार्णको शिलान्यास २०१३ सालमा तत्कालिन राजा महेन्द्रले गर्नु भएको थियो । विद्यालयबाट प्रथम पटक २०११ सालमा पाँच जनाले एसएलसी दिएकोमा चार जना उत्तिर्ण हुनु भएको थियो । २०१५ देखि २०२८ सालको नयाँ शिक्षा लागु हुनु पुर्व विद्यालयको नाम नेशनल मल्टिप्रपोज उच्च विद्यालय राखिएको थियो । हाल विद्यालयका इसिडि देखि कक्षा १२ सम्मको पढाई हुने गरेको छ । २०५४ देखि दश जोड दुईको पढाई संचालन सुरु भएको विद्यालयका हाल ४४ जिल्लाका विद्यार्थीहरु अध्य्यनरत रहेको सुचना अधिकारी शिवभक्त देवकोटाले बताउनु भयो ।
विद्यालयमा पछिल्लो दुई बर्षमा कक्षा ११ र १२ मा अध्ययन गर्ने करिब ६० प्रतिशत बिद्यार्थी घटेको बिद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद सापकोटाले बताउनु भयो । बिद्यालयमा हाल व्यबस्थापन, शिक्षा, मानविकी र विज्ञान बिषयमा पठन पाठन हुदै आएको छ । बिद्यालयले कक्षा ११ र १२ मा अध्ययनरत बिद्यार्थीहरुबाट मासिक १ हजार शुल्क मात्र लिदै आएको उहाँले जनाउनु भयो । अधिकांश बिद्यार्थीहरुको रुचि बिहानको समयमा अध्ययन गर्न चाहेकोले उक्त वातावरण वनाउन नसक्दा बिद्याद्यार्थीहरुको संख्या घट्दो रुपमा रहेको बिद्यालयले जनाएको छ । बिद्यालयमा हाल १ हजार ४ सय ३२ जना बिद्यार्थीहरु रहेनु भएको छ भने उक्त संख्या दुई बर्ष अघि २ हजार ४ सयको संख्यामा रहेको अध्यक्ष राणाले बताउनु भयो ।
उक्त बिद्यालयसंग हाल करिब ७२ रोपनी जमिन भएकोले बर्षिक रुपमा राम्रो आम्दानी गर्ने गरेको छ । बिद्यालयले ३१ वटा व्यवसायीक सटरहरुको भाडा समेत संकलन गर्दै आएको छ । बिद्यालयले मासिक १३ लाख ८४ हजार निजी श्रोतका शिक्षा कर्मचारी देखि अन्य क्षेत्रमा खर्च गर्ने गरेको छ भने मासिक बिद्यालयको बचत १ लाख ३ हजार रहेको बिद्यालयका प्रधानाध्यापक सापकोटाले बताउनु भयो । बिद्यालयमा ५७ जना शिक्षक कर्मचारी मध्य २८ जना मात्र सरकारी दरवन्दीका रहेको बाँकी २९ जना निजी श्रोतबाट व्यबस्थापन गर्दै आएको उहाँले जनाउनु भयो । बिद्यालयको खातामा करिब एक करोड भन्दा बढी रकम रहेको बताइन्छ । बिद्यालयले एक देखि दश कक्षासम्म अग्रेंजी माध्यमबाट निःशुल्क रुपमा पठन पाठन गराउदै आएको जनाएको छ ।