डि.एन.बी.
पोखरा १२, मंसिर
शुन्दर नगरी पोखराको सडक छेउमा आफु खुसि रुख काट्ने केही पसल माथि जरिवाना सहित कार्वाही गरिएको छ । पोखरा महानगरपालिका वडा नं.८ न्युरोडमा सडक छेउमा हुर्किएको रुख काट्ने दुई वटा पसललाई जरिवाना सहित कार्वाही गरिएको पोखरा महानगरले जनाएको छ ।
फुटपाथमा हुर्किएको रुख काट्ने गिटार सप र स्काई फेसनलाई महानगरपालिकाको आर्थिक ऐन २०८० मा भएको व्यवस्था अनुसार कारबाही गरिएको पोखराका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले एटुजेडलाई बताउनुभयो । पसल छेकिएको भन्दै अनुमति विना रुख नै काटेका उनीहरूलाई १५ हजार जरिवाना गरिएको उहाँले बताउनु भयो ।
महानगरको आर्थिक ऐनमा सडक छेउको फुटपाथमा लगाइएका रुखहरूको हाँगा अनुमति विना कटाने गरेमा प्रति हाँगा ५ हजार र यदि रुख नै काटेमा १५ हजार जरिवाना हुने कानूनि व्यवस्था रहेको महानगरले जनाएको छ । एक घर दुई बिरुवाको नीति लिएको पोखरा महानगरपालिकाले पछिल्लो डेढ वर्षमा करिब हजारौँ बिरुवाहरू वृक्षारोपण गरेको छ भने, त्यति नै सङ्ख्यामा फूलका बिरुवाहरू रोपेको महानगले जनाउदै आएको छ ।
सडक छेउमा लगाइएका बिरुवाहरूको संरक्षण गर्न नगरवासीहरूमा नगर प्रमुख धनराज आचार्यले अनुरोध गर्दै आउनु भएको छ । पर्यावरणको सन्तुलनमा रुख बिरुवाको निकै महत्वपूर्ण भूमिका रहने भन्दै आफ्ना घर अगाडीका बिरुवा तथा फूलहरूको संरक्षणका लागि उहाँले अनुरोध गर्नुभएको हो । साथै मेयर आचार्यले पोखरा पर्यटकीय नगरी जहाँ विश्वका धेरै पर्यटकहरु आउने हुदा पोखराको सौन्दर्यतालाई दिगो रुपमा कायम गर्नु ठुलो चुनौती रहेकोले यसमा महानगरबासी सबैको साथ र सहयोग आवश्यक भएको बताउनु भयो ।