पश्चिमाञ्चलद्वारा छात्रा भलिवल प्रतियोगिताको उपाधि रक्षा

-


     पोखरा क्लिक     
     मंसिर ११ गते २०८० मा प्रकाशित


पोखरा, मंसिर ११

पश्चिमाञ्चल माविले पोखरामा आयोजित विद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। नयाँबजारको गुरुकुल विद्यासदनलाई आइतबार बिहान भएको फाइनल खेलमा ३–२ सेट अन्तरले पराजित गर्दै गैहपाटनस्थित पश्चिमाञ्चल माविले निर्णायक सेटमा उपाधी जितेको हो। पश्चिमाञ्चलले उपाधि जित्न पाँचौं सेटसम्म प्रतिश्पर्धा गरेको थियो।

आइतबार भएको फाइनल खेलमा पश्चिमाञ्चलले गुरुकुललाई १९–२५, २५–१४, २५–१९, २५–२७ र १५–१२ सेटमा पराजित गरेको हो।

पोखराको सबैभन्दा पुरानो पोखरा बहुमुखी क्याम्पसले ३७ औं वार्षिकोत्सवका अवसरमा आयोजित छात्रा भलिवल प्रतियोगितामा उपाधि हात पार्दै पश्चिमाञ्चल माविले ३० हजार रुपैयाँ नगद पुरस्कार शिल्ड र मेडल हात पारेको छ। दोश्रो भएको गुरुकुलले २० हजार रुपैयाँ नगद पुरस्कार सहित शिल्ड र मेडल हात पाएको छ। क्याम्पसले अघिल्लो वर्ष आयोजना गरेको छात्रा भलिवल प्रतियोगितामा पनि पश्चिमाञ्चलले नै हात पारेको थियो।

प्रतियोगिता संयोजक बिनोदराज आचार्यका अनुसार प्रतियोगितामा पोखराभित्रका सामुदायिक र निजी गरि १२ वटा शैक्षिक संस्थाले प्रतिश्पर्धा गरेका थिए। भलिवल प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेन्डर, सेटर, सर्भर र टिम प्रशिक्षकलाई पनि पुरस्कार दिइने उनले बताए।

क्याम्पस प्रमुख शिशुकला पराजुलीका अनुसार क्याम्पसले यो साता वार्षिकोत्सवको अवसरमा खेलकुद सहित विविध कार्यक्रम आयोजना गर्दैछ। खेलमार्फत विद्यार्थीमा लुकेको प्रतिभा बाहिर ल्याउनका लागि छात्रा भलिवल प्रतियोगिता आयोजना गरेको पराजुलीले बताईन। विजेता र उपविजेता टिमलाई मंसिर १४ गते वार्षिकोत्सवमा कार्यक्रममा पुरस्कृत गरिने उनले बताईन। उनले आगामि दिनमा पनि यस्तै प्रतियोगिता आयोजना गर्दै जाने बताईन।
पोखरा बहुमुखी क्याम्पसले पोखरामा आयोजना गरेको छात्रा भलिवल प्रतियोगिताको उपाधि विजेता पश्चिमाञ्चल माविको टिम।



This will close in 20 seconds