‘त्रिभुवन स्मृति अक्षयकोषमा पूर्व सहकर्मी राईबाट एक लाख सहयोग प्राप्त

-


     पोखरा क्लिक     
     मंसिर ११ गते २०८० मा प्रकाशित


पोखरा ११, मंसिर

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले स्थापना गरेको ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’का लागि पौडेलका पूर्व सहकर्मी संचारकर्मी रामचन्द्र राईले जापानबाट एक लाख रुपैयाँ सहयोग गरेका छन् । महासंघ गण्डकी प्रदेश समितिले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय पौडेलको स्मृतिमा स्थापना गरेको कोषमा राईले आफ्नो जन्म दिनको अबसर पारेर गत माघमा सहयोग गर्ने घोषणा गरेका थिए । उक्त सहयोग रकम छोरी प्राप्ति राई मार्फत प्रदेश समितिलाई हस्तान्तरण गरिएको हो ।

राई नेपालमा रहँदा र हाल जापानमा रहँदा समेत पोखराको पव्लिक फोर के टेलिभिजनका लागि संवाददाताको भूमिकामा छन् । राईले जापानबाट नै पत्रकार महासंघ गण्डकी प्रदेश समितिले स्थापना गरेको त्रिभुवन स्मृति अक्षयकोषमा योगदान गर्न विगतमा नेपालमा पत्रकारिता गरेर हाल प्रवासमा रहेका अग्रज र सहकमीलाई आपिल नै गरेका छन् । ‘विगतमा म जस्तै माइक्रोफोन गोजीमा थन्क्याएर सटुक्क प्रबासिने धेरै अग्रज तथा मित्र त्रिभुवनका धेरै नजिकका दांैतरी सहकर्मीहरु हुनुहुन्छ । यो सन्दर्भमा यो महत्वपूर्ण कर्ममा वहाँहरु सबैलाई सहभागी भईदिन हुनको लागी यहीँबाट सार्वजानीक अपिल पनि गर्न चहन्छु’ उनले सामाजिक सञ्जाल मार्फत भनेका छन् ।

महासंघ कार्यलय परिसरमा सोमबार साँझ एक कार्यक्रमका बीच प्राप्त चेक बुझ्दै महासंघ गण्डकी प्रदेश समितिका महासचिव गोविन्द सुवेदीले अक्षयकोषका लागि सहयोग प्रदान गर्ने रामचन्द्र राई र उनका जीवन संगिनी सुशीला प्रति आभार प्रकट गरे ।
उनले कोषलाई आगामी १ माघ सम्ममा पूर्णता दिने लक्ष्य राखिएको जानकारी दिँदै योगदान गर्न सहकर्मी पत्रकारहरु र स्वर्गीय पौडेलका सुभेच्छुकहरुमा समेत आह्वान गरेका छन् ।

सहयोग रकम हस्तान्त्रण कार्यक्रममा सहजिकरण गरेका पत्रकार अपिल त्रिपाठीले महासंघले स्थापना गरेको कोष पत्रकार र सञ्चारकर्मीकै लागि भएकाले आफूजस्तै सबैले हातेमालो गर्ने अपेक्षा राईले राखेको जानकारी दिए । कार्यक्रममा बोल्दै पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष विमला भण्डारीले प्रदेशले स्थापना गरेको कोषमा कास्की शाखा र अरु जिल्ला शाखाहरुबाट समेत योगदान हुने बताइन् । सहयोग रकम हस्तान्तरण कार्यक्रममा कास्कीमा क्रियासिल पत्रकारहरुको उल्लेख्य उपस्थिति थियो भने कार्यक्रमको सञ्चाल प्रदेश समिति सदस्य सुनिल पाण्डेले गरेका थिए ।

महासंघ गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष त्रिभुवन पौडेलको १ माघमा यती एयरलाइन्सको विमान दुर्घटनामा परि निधन भएको थियो । पत्रकार महासंघ गण्डकी प्रदेश समितिले गत ९ माघमा आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय पौडेलको स्मृतिमा प्रदेश स्तरीय ‘त्रिभुवन पौडेल स्मृति पत्रकाररिता पुरस्कार’ प्रदान गर्ने उद्देश्यसहित १० लाख रुपैयाँ बराबरको अक्षयकोष निर्माण गर्ने निर्णय गरेको थियो ।

त्यसमा प्रदेश समितिको तर्फबाट ५ लाख रुपैयाँ र बाँकी ५ लाख रुपैयाँ महासंघ गण्डकी प्रदेश अन्तर्गतका जिल्ला शाखाहरु, पत्रकार एवं सुभेच्छुकहरु मार्फत जम्मा गर्ने निर्णय भएको महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिए ।
महासंघ गण्डकीले अध्यक्षको कार्यकक्षलाई ‘त्रिभुवन पौडेल स्मृति कक्ष’ नामाकरण गरेको छ ।यसैबिच, पौडेलको सामाजिक क्षेत्रमा उहाँको योगदानलाई जिवन्त राख्न त्रिभुवन पौडेल स्मृति प्रतिष्ठान समेत गठन भएको छ । हालै पोखरामा बसेको एक भेलाले पौडेलकी धर्मपत्नी प्रतिमा पौडेलको अध्यक्षतामा प्रतिष्ठान गठन भएको सचिव विश्वदर्शन पराजुलीले बताए । गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी पौडेलको निधन भएको थियो ।