पोखरा २४ का वडाध्यक्ष अधिकारीलाई साँढे चार महिनाको कैद र ७५ हजारको जरिवाना

-


     पोखरा क्लिक     
     मंसिर ८ गते २०८० मा प्रकाशित


पोखरा ८, मंसिर

पोखरा महानगरपालिका वडा नमबर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे चार महिना कैद र रु ७५ हजार जरिवानाको फैसला गरेको छ । आफ्नै गाँउले माझ जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कसुरमा अधिकारीलाई बिहीबार अदालतले सो बमोजिमको आदेश जारी गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । जिल्ला न्यायधीश अवनी मैनाली भट्टराईको एकल इजालसले वडाध्यक्ष अधिकारीलाई सो आदेश गरेको हो ।

जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ को दफा ७ बमोजिम फैसला भएको उहाँले जनाउनु भयो ।
सो दफामा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र रु ५० हजारदेखि रु दुई लाखसम्म जरिवानाको व्यवस्था छ ।सो दफा अनुसार तीन महिना कैद सजायको व्यवस्था रहेपनि वडाध्यक्ष अधिकारी सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले ५० प्रतिशत थप सजाय भएको सूचना अधिकारी अधिकारीले बताउनुभयो ।

पोखरा– २४ का वडा सदस्य मैया नेपालीले विसं २०७९ माघ ५ गते जिल्ला अदालत कास्कीमा अधिकारी विरुद्ध जातिय भेदभाव तथा छुवाछुत सम्बन्धी कसुरमा मुद्वा दर्ता गराउनुभएको थियो । यसैगरी पीडित नेपालीलाई अधिकारीले रु १० हजार क्षतिपूर्ति बुझाउनुपर्ने अदालतको फैसला छ ।

वडाध्यक्ष अधिकारीले सार्वजनिक कार्यक्रममै आफूमाथि जातीय विभेदजन्य गाली गलौज गरेको भन्दै नेपालीले जिल्ला प्रहरी कार्यालय कास्कीमा गत वर्ष पुस २४ मा जाहेरी दर्ता गराउनुभएको थियो ।

नेपालीको किटानी जाहेरीपछि अधिकारी पुस २६ मा पक्राउ परेर माघ ९ मा रु एक लाख ५० हजार धरौटीमा रिहा हुनुभएको थियो ।
वडाध्यक्ष अधिकारी गत बर्षको निर्वाचन २०७९ मा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित हुनुभएको थियो ।