दीननाथ बराल
पोखरा ६, मंसिर
केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०८० भोलि(विहिबार) देखि पोखरामा सुरु हुने भएको छ । यही मंसिर १५ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको अन्तिम तयारी पूरा भएको मदन भडारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताउनु भयो ।
विहिबार हुने उद्घाटन खेलमा बागमती प्रदेश र आयोजक मदन भडारी स्पोट्र्स एकेडेमी (रातो) टिम बिच प्रतिष्प्रर्धा हुने भएको छ । बिहिबार बिहान ११ः०० बजे उक्त प्रतियोगिताको उद्घाटन एकेडेमीका परिकल्पनाकार, संरक्षक तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने कार्यक्रम तय भएको एकेडेमीका गण्डकी इन्चार्ज राजेश कुमार गुरुङले एटुजेडलाई बताउनु भयो । उहाँका अनुसार पूर्व प्रधानमन्त्री ओली बिहान ९ः०० बजे हवाई उडान मार्फत पोखरा आउने तयारी भएको उहाँले जनाउनु भयो ।
उक्त प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागिय टोली नेपाल पुलिस क्लव, त्रिभुवन आमी क्लव, शसस्त्र प्रहरीको एपीएफ क्लब र आयोजक मदन भण्डारी स्पोसर्ट एकेडेमीको २ टिम सहित १२ टिम सहभागि हुने भएको उहाँले जनाउनु भयो । प्रतियोगितामा उपाधि विजेता टिमले नगद ५ लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ । त्यसै गरी दोश्रो हुने टिमले २ लाख पचास हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ । उक्त खेल आईसीसीको नियम अनुसार खेलाइने टि–ट्वान्टी उक्त प्रतियोगिताको म्यान म्यान अफ द सिरिजले नगद ३० हजार रूपैयां, बेस्ट व्यटार र बलरले जनही नगद २०÷२० हजार रूपैयाँ र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ प्राप्त गर्ने भएका छन् । यही मंसिर १५ गतेसम्म संचालन हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करिब ७७ लाख खर्च लाग्ने एकेडेमीले जनाएको छ ।
’सबैका लागि खेलकुद’ भन्ने मुल नाराका साथ २०६६ साल पुस १७ अर्थात १ जनवरी २०१० मा जननेता मदन कुमार भण्डारीको नामबाट मदन भण्डारी स्पोटर्स एकेडेमीको स्थापना भएको हो । हरेक युवालाई खेलकुदसँग अन्तरसम्बन्धित गराई राष्ट्रव्यापी रूपमा व्यवसायिक खेलाडी उत्पादन गरी अनुशाशित, मर्यादित र राष्ट्रप्रेमी नागरिक बनाउने लक्ष्य अनुरूप यसले आफ्ना सिर्जनात्मक गतिविधिहरु अगाडि बढाउनदै आएको एकेडेमीका सल्लाहकार मोहन रेग्मीले बताउनु भयो ।
एकेडेमी अन्तर्गत गठित क्रिकेट विभागका संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले पोखरामा अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्न आवश्यक पहल गर्ने जनाउनु भयो । कोशी, बागमती, मधेश, गण्डकी, लुम्विनी, सुदुर पश्चिम प्रदेश तथा कर्णाली प्रदेशको सहभागिता रहनेछ । त्यसै गरि यूवा खेलाडी उत्पादनका लागि एकेडेमीले रातो र निलो गरी २ टिम सहभागि गराउने भएको हो । साथै एकेडेमीले आगन्तुक दर्शकहरुलाई प्रबेश निशुल्क गरेको छ भने अस्थायी प्यारापिटको समेत व्यबस्था गरेको छ ।