दीननाथ बराल
पोखरा ४, मंसिर
पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं.२९ पटनेरी स्थित खेतमा पानी लैजाने क्रममा माछा मार्ने उद्धेश्यले करेण्ट समेत जोडेकोले करेन्ट लागेर मुस्ताङ जोमसोम घर भएका हाल पटनेरी बस्दै आएका ं.४६ बर्षका भीमलाल सुनार र उनकी श्रीमती ४६ बर्षकी सावित्री सुनारको मृत्यु भएको कास्की प्रहरीले एटुजेडलाई जनाएको छ ।
आज(सोमबार) दिउसो करिब ४ः०० बजे स्थानियले करेण्ट लागेर दुई जना घाइते भएको अबस्थामा प्रहरीलाई खबर गरे पश्चात इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी टोली घटना स्थलमा पुगि उनीलाई उपचारको लागि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा पुराएसंगै चिकित्सकले मृत घोषणा गरेको थियो । उनीहरुलाई अस्पतालले ५ः२३ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
आफ्नै घरबाट लाइन जडान गरी करेण्ट लगायर माछा मार्ने क्रममा एक्कासी पानीमा छुन पुगेसंगै करेण्ट लागेको स्थानियले बताए । मृतक सुनार परिवारका २ छोरी र सावित्रीको करिब ५ महिनाको गर्भमा शिशु भएको बताइएको छ । सुनार परिवारको करिब साँढे ३ बर्षकी छोरी साथमै थिइन भने करिब १४ बर्षकी छोरी जोमसोममै भएको उनका आफन्तले जनाएका छन्।