पोखरामा नेपाल–चीन क्रस कन्ट्रि दौड प्रतियोगिता हुने

-


     पोखरा क्लिक     
     मंसिर २ गते २०८० मा प्रकाशित


पोखरा २, मंसिर

खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले पोखरामा नेपाल–चीन क्रस कन्ट्रि दौड प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका, चिनियाँ राजदुतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुने भएको शनिबार पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

पोखरा क्षेत्रको खेल पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले यही मंसिर ९ गते (नोभेम्बर २५ मा) उक्त प्रतियोगिता आयोजना गर्न हुने तयारी गरिएको नेपाल चिन मैत्रि संघका अध्यक्ष विश्वशंकर पालिखेले बताउनु भयो । नेपाल र चिनिया धावकहरु बिच क्रस कन्ट्रि दौड प्रतियोगिता सहित चार इभेटमा प्रतियोगिता हुने भएको उहाँले जनाउनु भयो ।

मुख्य इभेन्टतर्फ टिम इभेन्ट र एकल इभेन्ट बिच प्रतिष्प्रर्धा हुने भएको छ । टिम इभेन्ट विजेताले तीन लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले दुई लाख ८८ हजार, तेस्रो हुनेले दुई लाख १६ हजार, चौथो हुनेले एक लाख ४४ हजार र पाचौँ हुनेले ९० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै एकल तर्फको विजेताले एक लाख ४४ हजार, उपविजेताले एक लाख आठ हजार र तेश्रो हुनेले ५४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । चौथो देखी सातौं स्थानसम्म आउनेले १८ हजार र आठौं देखी दशौंसम्मले ९ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

५ किमि विद्यार्थी ( छात्र÷छात्रा) दौड प्रतियोगिताको विजेताले समान २५÷२५ हजार रुपैयाँ पाउनेछन् । दोस्रोले बीस हजार तेस्रोले १५ हजार, चौथोले १० हजार र पाचौं हुनेले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मुख्य इभेन्टका लागि चीनबाट एक सय चार जनाको टोली पोखरा आउने भएको छ । प्रतियोगितामा १० नेपाली र १० चीनियाँ टिम हुनेछन् । एक टिममा कम्तिमा पनि एक महिला वा एक पुरुष अनिवार्य हुनु पर्ने छ । प्रतियोगितामा नेपाल भुतपूर्व खेलाडी मञ्च र युनान प्रदेश खेलकुद ब्युरो प्राविधिकको रुपमा रहनेछन् भने चीनबाट १६ जना चिकित्सक सहितको स्वाथ्यकर्मीको टोली समेत रहनेछ । पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले पोखरामा साहसिक खेल पर्यटनको प्रचुर सम्भावना रहेको र त्यसको भरपुर उपभोग गर्न आवश्यकता रहेको बताउनु भयो ।

उहाँले पोखराको साहसिक खेल पर्यटनको प्रबद्र्धन गर्न महानगरले सहयोग गर्ने बताउनु भयो । सहआयोजनाको रुपमा रहेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले उक्त इभेटले पोखराको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने हुदा यस्ता इभेण्ट निरन्तर रुपमा हुनु पर्नेमा जोड दिनु भयो ।