राष्ट्रिय कर दिवस तथा कर सप्ताह सुरु, पहिलो करदाता पोखरामा सम्मानित

-


     पोखरा क्लिक     
     मंसिर १ गते २०८० मा प्रकाशित


दीननाथ बराल
पोखरा, १ मंसिर

बिभिन्न कार्यक्रमको आयोजना गरी यस बर्षको राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम २०८० मनाउन सुरु भएको छ । आन्तरिक राजस्व कार्यालय पोखराले शुक्रबार देखि उक्त कार्यक्रम मनाउन सुरु गरेको हो । आज(शुक्रबार) पहिलो दिन पहिलो करदाता नल बहादुर गुरुङलाई आन्तरिक राजस्व कार्यालय पोखराले सम्मान गरेको कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले बताउनु भयो । करदातालाई सम्मान तथा कर सप्ताह कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख कर अधिकृत शर्माले कर कानूनको पालना गरी राजस्व संकलनमा योगदान गर्नु हुने करदाता प्रति आभार व्यक्त गर्नुभयो।

उहाँले कर प्रशासन र करदाताबिचको सम्बन्धलाई थप सुदृढ बनाउँदै लगिने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ । “स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन” भन्ने नाराका साथ राष्ट्रिय कर दिवस २०८० को मंसिर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरि मनाउन सुरु भएको प्रमुख कर अधिकृत शर्माले एटुजेडलाई बताउनु भयो ।


कार्यालयबाट कर दिवस तथा कर सप्ताह कार्यक्रमको अवसरमा करदाता शिक्षा कार्यक्रम, कर सम्बन्धि जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानूनको बारेमा करदातालाई सुसूचित गर्ने लगायतका विभिन्न कार्यक्रमहरू संचालन हुने भएको छ । राष्ट्रिय कर दिवस तथा कर सप्ताह समापन कार्यक्रम अन्तर्गत यहीँ मंसिर ७ गते उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने कार्यक्रम तय भएको कार्यालयले जनाएको छ ।

कार्यालयले पोखरा उद्योग बाणिज्य संघसंग मंसिर ४ गते, लेखनाथ उद्योग बाणिज्य संघसंग मंसिर ५ र रेवान पोखरासंग छलफल तथा अन्तरक्रिया कायक्रम गर्ने भएको छ । यस बर्ष कर दिवसको अवसरमा छठ पर्व सहितको सार्वजनिक बिदा धेरै दिन भएकोले अघिल्ला बर्षको जस्तो धेरै कार्यक्रमहरु भने नभएको कार्यालयले जनाएको छ । पछिल्लो समयमा करका धेरै काम काजहरु अनलाइनबाटै गर्न सकिने भएकोले कार्यालयमा सेवाग्राहीको निकै कम भिडभाड हुने भएको छ ।



This will close in 20 seconds