काठमाडौं २२, कार्तिक
अन्तर्राष्ट्रिय पौडी महासंघका अध्यक्ष क्याप्टेन हुसेन एल मुसलाम एक दिवसिय भ्रमणका क्रममा आज मंगलबार नेपाल आएका छन् ।
अध्यक्ष हुसेनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ र नेपाल पौडी संघका अध्यक्ष एवं ओलम्पिक कमिटिका उपाध्यक्ष अशोक बज्राचार्य लगायत संघका पदाधिकारीहरुले स्वागत गरे ।
यस्तै अध्यक्ष हुसेनले आज अन्तर्राष्ट्रिय खेल परिसरमा भएको कार्यक्रममा नेपालमा स्कुल स्तर अझ साना बालबालिका देखिनै पौडी खेलको विकास गर्नु पर्ने भन्दै नेपालको पौडी विकासमा आफुले सहयोग गर्ने बताए । उनले अर्को पटक नेपाल आउने क्रममा नेपालको लागि पौडी खेलको बिकास गर्ने प्याकेज लिएर आउने बताए ।
यस अघि नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले नेपालमा पौडी खेलको विकासमा अध्यक्षको आगमनले सहयोग पुग्ने बताए ।
यस्तै सदस्य पारस श्रेष्ठले नेपालमा पौडीको विकासका क्रममा भएको प्रगती विवरण प्रस्तुत गरेका थिए । यसै क्रममा नेपाको भ्रमणमा रहेका विश्व पौडी महासंघका प्रशिक्षक सल्लाहकार एवं बिज्ञ जेम्स गिब्सनले नेपालका २० पौडी प्रशिक्षक एवं खेलाडीहरुलाई दुई दिन पौडीका विविध पक्षका बारेमा प्रशिक्षण प्रदान गरेका थिए । यस्तै नेपाल भ्रमणमै रहेकी बिश्व पौडी तथा रियो ओलम्पिककी स्वर्णधारी पेरनिल ब्लुमले आफ्नो अनुभव प्रदान गनुका साथै खेलाडीहरुको खेल विकासका लागि खेल प्रदर्शन गरेकी थिईन ।