पुतलि बाजे अब स्मरणमा मात्र

-


     पोखरा क्लिक     
     कार्तिक २० गते २०८० मा प्रकाशित


पोखरा २०, कार्तिक

कलिन स्मिथ अर्थात् ‘पुतली बाजे’ अब हाम्रो स्मरणमा मात्र रहेका छन्। उनको ८८ बर्षको उमेरमा उपचारका क्रममा हरियो खर्क अस्पतालमा भौतिक रुपमा उनले सबैलाई छाडेकाछन् ।

सन् १९३६ मा जन्मिएका कलिन ३० वर्षको युवा उमेरमा सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षण पेसाका लागि नेपाल आएका थिए ।

सानैदेखि हिसाब र विज्ञानमा तीक्ष्ण क्षमता भएका कलिन आफ्नै मामाको पुतली सङ्कलन गर्ने सोखबाट प्रभावित हुँदै नेपालमा पुतलीको अध्ययनमा लागेका व्यक्ति हुन् । नेपालका डाँडाकाँडा, भीर पाखा र पखेरा पुगेर पाँच सयभन्दा बढी प्रजातिका पुतली सङ्कलन गरी पृथ्वीनारायण क्याम्पस परिसरमा पुतली सङ्ग्रहालयको स्थापना गरेका छन् । पुतलीको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन उनले अतुलनीय योगदान गरेका छन् ।
कलिन स्मिथको योगदानको कदर गर्दै नेपाल सरकारले २ डिसेम्बर २०१९ मा उनलाई सम्मानित नागरिकको दर्जा दिँदै सम्मानार्थ नागरिकता समेत प्रदान गरेको छ । उनी विगत लामो समयदेखि पोखरा १८ लामागाउँमा बस्दै आएका थिए ।

स्व।कलिनको अन्तिम बिदाइ तथा श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर सोमबार पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको बटरफ्लाई म्युजियमको प्राङ्गणमा राखिएको थियो । त्यसपछि क्रिश्चियन परम्परा अनुसार उनको अन्तिम संस्कार भएको छ ।

उनको निधनले आफू निकै दुखी भएको भन्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले श्रद्धाञ्जली सहित गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
कलीन स्मिथ ुपुतली बाजेु को पार्थिव शरीर अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहितको टिम ।