महासचिव गुटेरेसद्वारा जलवायु परिवर्तनको असर न्यूनीकरणमा सहयोग गर्ने प्रतिबद्धता

-


     पोखरा क्लिक     
     कार्तिक १४ गते २०८० मा प्रकाशित


पोखरा १४, कार्तिक

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले आज पोखरा विमानस्थलमा पत्रकारहरु माझ संक्षिप्त कुरा राख्दै उक्त कुरा बताएका हुन् ।

आज बिहान अन्नपूर्ण आधार शिविर(एबीसी) पुगेका उनले विकसित तथा औद्योगिक राष्ट्रका कारण जलवायु परिवर्तन भइरहेको बताउँदै त्यसको नतिजा नेपालले भोगिरहेको उल्लेख गरे । जलवायु परिवर्तनको बढ्दो असरका सन्दर्भमा नेपालको त्यस बिषयमा भूमिका नभएको उनको भनाई थियो । विश्वव्यापी तापमान वृद्धिका कारण हिमाली शृङ्खलाको हिउँ दिनप्रतिदिन घटिरहेको उल्लेख गर्दै उनले हिउँ पग्लिएकै कारण पहिरो तथा बाढीले समुदायमा क्षति पुग्न थालेको महासचिव गुटेरेसले बताए ।

धनी तथा औद्योगिक राष्ट्रलाई जलवायु परिवर्तनको असर न्यूनीकरण हुने गरी प्रविधि तथा उपाय अपनाउन उनले आह्वान गरे । नेपाली सेनाको हेलिकोप्टरबाट अन्नपूर्ण आधार शिविर पुग्नुभएका महासचिव गुटेरेसलाई अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णुबहादुर केसी, छोम्रोङ पर्यटन समितिका पदाधिकारी तथा स्थानीय पर्यटन व्यवसायीले स्वागत गरेका थिए । पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखराका मेयर धनराज आचार्य, पुम्दीकोट कोट बिकास समितिका अध्यक्ष चन्द्रकान्त बराल, पोखरा २२ का वडा अध्यक्ष हिमलाल बराल, नेपाल पत्रकार महासघ कास्कीका अध्यक्ष विमला भण्डारीले मायाको चिनो हस्तान्तरण गर्दै विदाई गरेका थिए । नेपाली सेनाको हेलिकोप्टरबाट महासचिव गुटेरेस भैरहवा प्रस्थान गरेका हुन् ।