फिर्केखोला मापदण्ड विपरितका भौतिक संरचना हटाउन महानगरको ३५ दिने सूचना

-


     पोखरा क्लिक     
     कार्तिक ११ गते २०८० मा प्रकाशित


पोखरा ११, कार्तिक

पोखराको फिर्केखोलाको मापदण्ड भित्र बनेका सबै प्रकारका भौतिक संरचना हटाउन पोखरा महानगरपालिकाले ३५ दिने सूचना जारी गरेको छ । महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएको भन्दाभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउन सूचना जारी गर्दै महानगरले ३५ दिने भित्र नहटाए महानगरले भत्काउने चेतावनी दिएको छ ।

पोखरा–१८ को अधेरीकुनादेखि सुरु भएर फेवातालमा मिसिने फिर्केखोलामा मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउन महानगरले ३५ दिने सार्वजनिक सूचना जारी गरेको महानगरका मेयर धनराज आचार्यले बताए ।

प्राविधिक समितिको प्रतिवेदनअनुसार फिर्केखोलाघरमाथि स्थायीदेखि अस्थायी प्रकृतिका १ सय ६० संरचना निर्माण गरेको पाइएको छ । फिर्केखोला अतिक्रमण गरी खोलामाथि सामाजिक संघसंस्था, विद्यालय तथा व्यक्तिगत घर तथा संरचना बनाएको पाइएको सो प्रतिवेदनमा उल्लेख छ ।

फिर्केखोला नै मिचेर ९७ वटा अस्थायी संरचना र ३५ स्थायी संरचना निर्माण गरेको पाइएको छ । खोलामाथि १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

महानगरले अतिक्रमित संरचना नहटाएमा महानगरपालिका आफैँले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकीसरह भुक्तानी गर्नुपर्ने जनाएको छ ।

साविक ग्यारजाति पछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिकाको वडा नं १८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिने फिर्केखोलाको लम्बाइ आठ किलोमिटर छ ।