दीननाथ बराल
पोखरा ३, कार्तिक
पर्यटकीय नगरी पोखराबाट आम सर्वसाधारणको लागि २१ करोड २५ लाख नयाँ नोट सटही गरिएको छ । सोमबार देखि सुरु गरेको नयाँ नोटको सटही शुक्रबारसम्म आइपुग्दा उक्त रकम नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले वितरण गरेको कार्यालयका उपनिर्देशक पुष्कर शुर्खालीले बताउनु भयो ।
कार्यालयले शुक्रबार भने १ करोड ९५ लाख नयाँ नोट सटही गरेको हो । कार्यालयबाट विहिबार ४ करोड ६ लाख नयाँ नोट सटही गरेको उपनिर्देशक शुर्खालीले एटुजेडलाई बताउनु भयो । नेपालीहरुको महान पर्व दशैं पर्वको अवसरमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले यस बर्ष आम सर्व साधारण र बैंक तथा विक्तिय संघ संस्थाहरुको लागि १ अर्ब ४ करोड ५० लाख रुपैया नयाँ नोट सटही गरेको उहाँले जनाउनु भयो । कार्यालयले यस बर्ष बैंक तथा विक्तिय संघ संस्थाहरुको लागि भने ८३ करोड २५ लाखको नयाँ नोट सटही गरेको उहाँले उल्लेख गर्नु भयो ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार पोखराको कार्यालयबाट प्रति व्यक्ति १८ हजार ५ सयको नयाँ नोट सटही गरेको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक आर्या जोशीले बताउनु भयो । आम सर्वसाधारणको लागि भने गत बर्ष झै यस बर्ष पनि सानो नोट (५, १०, २०, ५० र १००) का एक÷एक बण्डल सटहीको व्यबस्था गरिएको उहाँले जनाउनु भयो । नयाँ नोटको जतन गरी हिफाजत गर्न उहाँले आग्रह गर्नु भएको छ ।
नेपालीहरुको महान पर्व विजया दशमी पर्वको अवसरमा यस बर्ष १ अर्ब २३ करोड ४५ लाख नयाँ नोट सटही गर्ने योजना रहेको राष्ट्र बैंक पोखरा कार्यालयलका उप—निर्देशक सम्झना ढकालले एटुजेडलाई बताउनु भयो । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले गत बर्ष १ अर्ब ५५ करोड २२ लाख रुपैया बैंक तथा विक्तिय संघ संस्था सहित आम सर्वसाधारणलाई नयाँ नोट सटही गरेको थियो ।
यस बर्ष आफुहरुसंग नयाँ नोटको धेरै स्टक नभएकोले माग अनुसार दिन नसके पनि सन्तुलित ढंगले वितरण गरेकोे उप—निर्देशक ढकालले बताउनु भयो । यस बर्ष सायद आर्थिक मन्दीले गर्दा ५ रुपैयाको नोटको माग अध्याधिक भएको राष्ट्र बैंकले जनाएको छ । शुक्रबार देखि अधिकांश सरकारी तथा गैरसरकारी संघ संस्थाहरुमा यस बर्षको दशैं पर्वको बिदा हुने भएकोले गर्दा बैक तथा विक्तिय संघ संस्थामा बिहानै देखि भिडभाड भएको थियो ।