पोखराबाट एकै दिन १० हजार यात्रु बाहिरिए

-


     पोखरा क्लिक     
     कार्तिक ३ गते २०८० मा प्रकाशित


दीननाथ बराल

पोखरा ३, कार्तिक

यस बर्षको सबै भन्दा धेरै यात्रु शुक्रबार पोखराबाट बाहिरिनु भएको छ । यस पालीको वडा दशैंको अवसरमा पोखरा क्षेत्रबाट एकै दिनमा करिब १० हजार जना बाहिरिनु भएको व्यवसायीहरुले दाबी गर्नु भएको हो ।

दशैं टिकाको दिन नजिकीदै गर्दा सप्तमी पर्वको अघिल्लो दिन शुक्रबार प्रायः दशैं पर्वसम्मको लागि सार्वजनिक बिदा भएकोले गर्दा शुक्रबार एकै दिनमा बर्षकै अत्याधिक बढी करिब १० हजार जना पोखराबाट बाहिरिनु भएको पृथ्बीराजमार्ग बस संचालक कम्पनी प्रा.लि.का अध्यक्ष योगेन्द्र केसीले दाबी गर्नु भयो ।

गण्डकी प्रदेशको राजधानि पोखरामा विभिन्न काम तथा रोजगार एवं पेशा व्यवसाय गर्दै आएका व्यक्तिहरु आफ्नो थाक थलो (जन्मस्थल) मा दशैमा जानको लागि शुक्रबार बिहान देखि बेलुकासम्म लामो तथा छोटो दुरीका यात्रु बाहक बसमा यात्रा गर्नेहरुको भिड भएको उहाँले एटुजेडलाई जनाउनु भयो । यातायात व्यवसायिहरुले नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ–दिपावलीको अवसरमा यात्रु बाहक बसको अग्रिम टिकट बुकिङ खुल्ला गरे पनि पहिलाको जस्तो उत्साह नदेखिए पनि शुक्रबार भने अपेक्षाकृत यात्रुहरुको चहल पहल भएको अध्यक्ष केसीले बताउनु भयो । ५ प्रतिशत जसो अग्रिम टिकट बुकिङ नभएको अबस्थामा पनि आफुहरुले व्यबस्थापन मिलाएको उहाँले जनाउनु भयो ।

शुक्रबार मात्र करिब अन्य क्युको तुलनामा दोब्बर भन्दा पनि बढीको संख्या करिब ८ सय भन्दा बढी यात्रु बाहक बस तथा हाइस माइक्रो बस सेवा संचालन गरिएको प्रा.लि.ले जनाएको छ । भोलि शनिबार सप्तमी पर्व भएकोले भोलिको पनि उत्तिकै यात्रुको चाप माग भएको अध्यक्ष केसीले बताउनु भयो । प्रा.लि.संग ७ वटा प्रदेशका २७ स्थानमा पुग्ने करिब १ हजार ३ सय वटा बस तथा हाइस माइक्रो बस रहेको प्रा.लि.ले दाबी गरेको छ । विभिन्न ठाँउबाट कामको शिलशिलामा विभिन्न जिल्ला पुगेकाहरु आफ्नो घर फर्किने दशैंको दिन नजिकीदै जादा यातयात व्यवसायिहरुले सुविधा दिने उद्धेश्यले अग्रिम टिकट बुकिङ खुल्ला गर्नु भएको थियो ।

यसैबिच, पर्यटक बस संचालन गर्ने संस्था नाट्टा गण्डकीले दशैं पर्व लक्षित गरी यस बर्ष करिब ८० प्रतिशत यात्रु बाहक बस तथा माइक्रो बस संचालन गरेको छ । कोभिड १९ पछि करिब ५० प्रतिशत मात्र आफ्ना सवारी साधनहरु संचालन भएको अबस्थामा हाल यात्रुको माग र चाप अनुसार हाल ८० प्रतिशतसम्म बसहरु संचालन गरेको नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले बताउनु भयो ।

हाल पोखराबाट काठमाण्डौं तर्फ जादा ५ प्रतिशत र काठमाडौंबाट पोखरा तर्फ आउदा भने शतप्रतिशत अग्रिम सिट बुक भएको उहाँले दाबी गर्नु भयो । अष्टमी पर्वसम्मको लागि अग्रिम टिकट बुकिङ भएको अध्यक्ष अधिकारीले जनाउनु भयो । नाट्टा गण्डकीमा करिब ६० वटा साना ठुला गरी यात्रु बहाक पर्यटक सवारी साधनहरु रहेका छन्। करिब २० देखि २५ प्रतिशत जसो व्यक्ति आफ्नै निजी तथा संस्थागत सवारी साधनबाट समेत यात्रा गर्ने गरेको व्यवसायीहरुले बताउनु भएको छ ।