पोखरा, कात्तिक २
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले सामाजिक सद्भाव खलबल गरी मुलुकलाई कमजोर बनाउने तत्वसँग सजग रहनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस कास्की क्षेत्र नं १ ख द्धारा पोखरामा बिहिबार आयोजित नेपाली काँग्रेसको प्रथम प्रदेश सम्मेलन एवं विजयदशमी शुभकामना कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो ।
मुख्यमन्त्री पाण्डेले सबै जात, धर्म, भाषा र संस्कृतिलाई एकताको रुपमा लिदै आएकोमा अहिले आएर नेपाली भाषा र धर्मप्रति प्रहार गरी मुलुकलाई कमजोर बनाई जनताले प्राप्त गरेको उपलब्धिलाई समाप्त गर्ने षड्यन्त्र भएको बताउनुभयो । काँग्रेस केन्द्रिय सदस्य समेत रहनुभएको मुख्यमन्त्री पाण्डेले काँग्रेस कमजोर भए संघिय लोकतन्त्र समेत धरापमा पर्ने बताउनुभयो ।
उहाँले काँग्रेस भित्र कमिकमजोरी छन् अब सबै नेता तथा कार्यकर्ताहरुले आफ्नो कमजोरीलाई सच्याउदै जानुपर्ने बताउनुभयो ।
सरकारको बारेमा बोल्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘मैले सकेसम्म राम्रो काम गर्छु, नराम्रो गर्दिन्, पार्टी र तपाइहरुको शिर झुकाएर काँग्रेसलाई बन्धक बनाउन पनि चाहान्न ।’ नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले काँग्रेसको बिकल्प काँग्रेस नै भएकाले काँग्रेसमा नै रहेर प्रजातन्त्रको पूर्ण सदुपयोग गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
‘काँग्रेससँगै डराउनुपर्छ अन्य पार्टीसँग डराउनुपर्दैन, काँग्रेस एक भएर गएमा प्रजातन्त्र पनि बलियो हुन्छ र मुलुकले पनि आर्थिक र सामाजिक उपलब्धिहरु हासिल गर्न सक्छ,’ नेता शर्माले थप्नुभयो । काँग्रेसका सबै नेताहरुलाई सच्चिएर हिड्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा कास्कीका सभापति किशोरदक्त बरालले विदेशीने युवाहरुलाई स्वदेशमै रोजगार दिनको लागि कृषि र अन्य उत्पादनशिल क्षेत्रमा लाग्नको लागि नितिगत रुपमै प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।
कास्की पूर्व सभापति कृष्ण केसीले पार्टी भित्रको आन्तरिक द्धन्दलाई व्यवस्थापन गरेर जान सकेमात्र पार्टी एकढिक्का हुने बताउनुभयो ।
कास्की क्षेत्र नं १ खका अध्यक्ष कृष्ण कोइरालाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा काँग्रेस गण्डकी प्रदेशका सह–महामन्त्री कोपिला रानाभाट, गण्डकी प्रदेशसभाका सासंद सरस्वती गुरुङ, गण्डकी प्रदेशका प्रवक्ता मधु बास्तोला, काँग्रेसका युवा नेता बोधराज कार्की, राजेन्द्रमणी लामिछाने, सुदिप भट्टराई, बिमला भण्डारी, तरुण दलका केन्द्रिय सदस्य सागर गुरुङ, कास्की सदस्य अर्जुन गुरुङ, महासमिति सदस्य दिपक माइला लगायतका नेताहरुले काँग्रेसलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिनुभएको थियो ।