कास्कीको माछापुच्छ्रे गाउँपालिकामा खादा निषेध

-


     पोखरा क्लिक     
     कार्तिक १ गते २०८० मा प्रकाशित


सागर सुनार
पोखरा १, कार्तिक

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा खादा निषेध गरिएको छ । गाउँपालिका भित्र सञ्चालन हुने जुनसुकै कार्यक्रम, सभा, समारोह, गोष्ठी, सेमिनार, बैठक, सम्मान तथा बधाई लगायतका कार्यक्रममा स्वागत सत्कारको लागि प्रयोग हुदै आएको खादाको प्रयोग नगर्ने पालिकाले निर्णय गरेको छ ।

गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशन गरी पालिकाभित्र उत्पादन नहुने आयातित खादा प्रयोग नगर्ने निर्णय गरिएको जनाएको छ ।
खादा प्रयोगलाई पालिकामा पूर्ण रुपमा निरुत्साहित गरिएको प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो,“ हाम्रो गाउँठाउमा उत्पादन हुने फूलहरु, गलबन्दी, भाँग्रा आदिले स्वागत गर्ने गाउँ सभाको निर्णय बमोजिम आयतित खादालाई निरुत्साहित गर्ने निर्णय गरेका छौँ ।” अन्य कार्यमा प्रयोग नहुने खादाको प्रयोगबाट केवल खर्च मात्र बढाउने भएकाले रोक लगाइएको अर्यालले बताउनुभयो ।

चालू आवको पालिकाको वार्षिक नीति तथा कार्यक्रममा पनि यस विषयमा उल्लेख गरिएको छ भने सोही कार्यक्रमलाई कार्यान्वयन गर्न खादा प्रयोग नगर्न सबैमा आग्रह गरिएको पालिकाले जनाएको छ ।