दीननाथ बराल
पोखरा २२, असोज
पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालको आयोजनामा यही असोज २६ देखि २८ गतेसम्म पोखरा २२ (पुम्दी—भुम्दी) मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २२ को कार्यालय र स्वास्थ्य चौकीको समन्वयमा तीन दीनसम्म वडा कार्यालयमै निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको नेलम्बो नेपालका अध्यक्ष एकदेब देबकोटाले बताउनु भयो ।
उक्त स्वास्थ्य शिविरमा स्त्रीरोग, हाडजोर्नी, छाला, नाक, कान, घाँटी, सामान्य जाँच, दन्त रोग लगायतको उपचार गरिने भएको उहाँले बताउनु भयो । त्यसै गरी शिविरमा ल्याब, इसिजि, भिडियो एक्सरे जस्ता सेवाहरु सहित निःशुल्क औषधिको समेत व्यबस्था गरिएको अध्यक्ष देबकोटाले बताउनु भयो । उक्त शिविर सहित स्वास्थ्य सचेतना समेत संस्थाले गर्ने भएको उहाँले जनाउनु भयो ।
३ दिन सम्म सञ्चालन हुने बृहत शिविरमा ४ जना चिकित्सक सहित १० जना स्वास्थ्यकर्मी गरी जम्मा २२ जनाको टोली शिविरमा खटिने तयारी गरिएको कार्यक्रम संयोजक भिम प्रसाद भण्डारीले बताउनु भयो । टोली आवासिय सहित उक्त क्षेत्रमा रहेर पोखरा २२ का स्थानिय जनताको स्वास्थ्य क्षेत्रमा बिषेश चासो दिने भएको हो ।