पोखरा २२, असोज
हिमालपारीको जिल्ला मुस्ताङमा हुर्काइएका भेंडा च्यांग्राको स्वास्थ्य परिक्षण गरी पोखरा तर्फ ल्याईदै छ । मुस्ताङमा हुर्काइएका भेंडा च्यांग्राको बिक्रि वितरणको लागि दशैं पर्व लक्षित गरी पोखरा तर्फ भेंडा च्यांग्रा ल्याउन सुरु भएको व्यवसायीहरु बताउनु हुन्छ ।
स्थानिय किसानहरुले हुर्काएका भेंगा च्यांग्रा यस बर्षको लागि बिक्रि गर्ने उद्धेश्यले मुस्ताङबाट बाहिरिने भेंगा च्यांग्राको स्वास्थ्य परिक्षण गरेर मात्र पठाउन सुरु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका डा.लालमणि अर्यालले एटुजेडलाई बताउनु भयो ।
भेंडा च्यांग्राको स्वास्थ्य परिक्षण हालसम्म करिब २ सय ५० वटाको गरिएको छ । ४÷५ समुहमा गरिएको उक्त भेंडा च्यांग्राको स्वास्थ्यको हालको अबस्था राम्रै भए पनि केही दिन पानी परेकोले लेकबाट बेसीमा झार्दै पोखरा लगायतका स्थानमा पुग्दा केही भेंडा च्यांग्राको नाकबाट सिंगान आउन सक्ने डा.अर्यालले बताउनु भयो । उहाँका अनुसार पहिलो चरणमा गरिएको भेंडा च्यांग्रा निकै राम्रा पुष्टिका रहेका छन्।
मुस्ताङको जोमसोमबाट म्याग्दी हुदै पोखरा, काठमाण्डौं, चितवन लगायतका क्षेत्रमा दशैं पर्व लक्षित हुने गरी यस बर्ष करिब ८ हजार भेंडा च्यांग्रा बिक्रिको लागि मुस्ताङबाट बाहिरिने भएको व्यवसायीहरु बताउनु हुन्छ । पछिल्लो समयमा मुस्ताङ क्षेत्रमा पर्यटकहरुको आगमन राम्रो भएसंगै भेंगा च्यांग्राको मुस्ताङमै पनि राम्रो खपत हुन थालेकोले दशैं तिहारको अवसरमा पोखरा लगायतका क्षेत्रमा आफुहरुले पालन गरेका भेंगा च्यांग्रा केही कम पठाउन थालिएको मुस्ताङका एक भेंडा च्यांग्रा व्यवसायी आङग्याल गुरुङले बताउनु भयो ।