दीननाथ बराल
पोखरा २०, असोज
अष्ट्रेलियन फुटवल (फुटी) औपचारिक रुपमा नेपाल भित्रिएसंगै शनिबार यस खेलको पहिलो मैत्रिपूर्ण खेल समेत आयोजना भएको छ । हिमालयन लियो पाट्र्स र नेपाल अष्ट्रेलिया आल्मुनाई संघको संयुक्त आयोजनामा पोखराको कोमागाने पार्कको खेल मैदानमा शनिबार औपचारिक रुपमा उक्त खेल भित्रिएसंगै सो खेलको मैत्रिपूर्ण फुटी आयोजना भएको पाट्र्सका सल्लाहकार नारायण पहारीले बताउनु भयो ।
शनिबार भएको मैत्रिपूर्ण खेलमा ताल वराही माविले लेकसाइड लायन्सलाई ६८–११ को बिशाल गोल अन्तरले पराजित गरेको छ ।
संघका संस्थापक समेत रहनु भएका पहारीले नेपाल र पोखरामा यस खेलको सम्भावना देखेर आफुहरुले केही बर्ष अघि पोखरामै यस खेलको दर्ता समेत गरेको उल्लेख गर्नु भयो ।
अष्ट्रेलियनको चर्चीत खेल फुटी नेपालमा औपचारिक रुपमा शनिबार एक मैत्रिपूर्ण खेलबाट भित्रिएसंगै यस खेलको नेपालमा पनि प्रवल सम्भावना रहेको अष्ट्रेलियन राजदुत फेलिसिटि भोल्कले बताउनु भयो । उक्त मैत्रिपूर्ण फुटी खेलको उद्घाटन गर्दै उहाँले पोखरामा पर्यटनसंगै खेलकुदको प्रवल सम्भावना रहेको दाबी गर्नु भयो । नेपालमा ऐतिहासिक रुपमा पहिलो पटक उक्त फुटी खेल आयोजना भएकोमा खुसि व्यक्त गर्दै यस खेलको विकास र विस्तारमा लाग्न आग्रह गर्नु भयो ।
उक्त अवसरमा वोल्दै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले खेलकुदमा लाग्ने प्रायः सबैजसो सफल हुने गरेको दाबी गर्नु भयो । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन प्रबर्द्धनमा यस्तो खेलले सकरात्मक सन्देश दिने बताउनु भयो । पोखरा ६ का वडा अध्यक्ष बिष्णुबहादुर भट्टराईले नेपालमा यस खेलको भविष्य राम्रो भएको दावी गर्र्दै यसको लागि सरोकारवाला निकायले यसमा चासो दिन आग्रह गर्नु भयो ।
उक्त खेलको बारेमा चर्चा गर्दै प्रतियोगिताका निर्देशक राजन पौडेलले विगत करिब ५ बर्ष अघि जसो गठन भएको पाट्र्सले पहिलो पटक मैत्रिपूर्ण खेल आयोजन गरेको बताउनु भयो । अष्ट्रेलियन १६ जना खेलाडी फुटवलको तीन गुणा बढी मैदान आवश्यक पर्ने बताउनु भयो ।
खेलाडीहरुको टोलीलाई अष्ट्रेलियन राजदुत भोल्क, परिषदका अध्यक्ष श्रेष्ठ, टान गण्डकीका अध्यक्ष धर्मराज पन्थी, नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल लगायतले मेडल र प्रमाणपत्र वितरण गर्नु भएको थियो । उक्त कार्यक्रम संघका अध्यक्ष अनन्त पौडेलको अध्यक्षतामा भएको थियो । उक्त फुटी खेल नेपालमा भित्रिएसंगै विश्वका १५ वटा देशमा भित्रिएको संघले जनाएको छ ।