फोहोरबाट मोहोर बनाउने अभियान सहित बुधबारदेखि पोखरामा ‘आरयू फेस्ट’ हुने (भिडियो सहित)

-


     पोखरा क्लिक     
     मंसिर १ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, १ मङ्सिर

पर्यटकीय नगरी पोखरामा फोहोरबाट मोहोर बनाउने अभियान सहित भोलि( बुधबार) देखि ‘आरयू फेस्ट’ हुने भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा रिसाइकलिङ तथा अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना (जीसीआरयू) परियोजनाअन्तर्गत दोस्रो संस्करणको ‘आरयू फेस्ट २०२६ ः रि–थिंक २०२६’ यही मङ्सिर २ र ३ गते पोखरा–६, बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा सञ्चालन हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालको सहयोगमा आयोजना हुन लागेको दुईदिने महोत्सवले फोहोरलाई समस्याका रूपमा मात्र नभई पुनः प्रयोग र प्रशोधनमार्फत आम्दानी, रोजगारी तथा आर्थिक अवसर सिर्जना गर्न सकिने स्रोतका रूपमा बुझाउने लक्ष्य राखेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । पोखरामा उत्पादन भएको फोहोरलाई कसरी बर्गीकरण गरी आय आर्जन समेत गरी व्यबस्थापन गर्न सकिन्छ भन्ने उद्धेश्यले उक्त फेष्ट आयोजना गर्न लागिएको उनले जनाए । घर, सडक र बजारमा फालिने फोहोरलाई कसरी उपयोगी वस्तुमा बदल्न सकिन्छ ? प्रयोग भइसकेका सामग्रीलाई पुनः प्रयोग गरेर आम्दानी र रोजगारीको अवसर कसरी सिर्जना गर्न सकिन्छ ? यस्तै विषयलाई व्यवहारमै देखाउने उद्देश्यसहित उक्त फेष्ट आयोजना गरिएको उनले बताए ।

‘फोहोरलाई नयाँ दृष्टिकोणबाट हेरौँ, यसको मूल्य पहिचान गरौँ र पोखराको भविष्यलाई चक्रीय बनाऔँ’ भन्ने सन्देशसहित आयोजना हुने फेस्टमा पुराना तथा प्रयोग भइसकेका सामग्रीबाट तयार गरिएका नयाँ उत्पादनको प्रदर्शनी र बिक्रीसमेत हुनेछ । यसले रिसाइकलिङ तथा अपसाइकलिङ व्यवसायमा संलग्न उद्यमी, युवा, विद्यार्थी र सर्वसाधारणलाई एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको छ । मेयर आचार्यले पोखरामा रिसाइकलिङ तथा अपसाइकलिङका लागि छुट्टै भवन निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको बताए । उक्त भवन निर्माण सम्पन्न भएपछि प्रयोग भइसकेका सामग्रीबाट पुनः प्रयोग गर्न मिल्ने वस्तु उत्पादन गर्ने काम भवनभित्रै सञ्चालन गरिने उनले जनाए ।फोहोरलाई व्यवस्थापन गर्ने विषयमा मात्र सीमित नराखी त्यसबाट नयाँ वस्तु उत्पादन र रोजगारी सिर्जना गर्ने वातावरण बनाउन महानगरले पहल गरिरहेको छ ।

त्यस्तै, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले आरयू फेस्टले पोखरामा फोहोरको वर्गीकरण, पुनः प्रयोग र व्यवस्थापनसम्बन्धी चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । फोहोरलाई स्रोतका रूपमा उपयोग गर्ने संस्कार विकास गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने उनको भनाइ छ । महोत्सवमा रिसाइकलिङ तथा अपसाइकलिङबाट तयार गरिएका सामग्रीको प्रदर्शनी तथा बिक्री मुख्य आकर्षण रहनेछ । जीसीआरयू परियोजनाको सहयोगमा प्रवद्र्धित स्थानीय उद्यमीका उत्पादनसँगै छनोट भएका पाँच विद्यालयका आरयू क्लबका विद्यार्थीले तयार गरेका सामग्रीसमेत प्रदर्शन तथा बिक्री गरिनेछ ।

त्यस्तै, चार सयभन्दा बढी धावक सहभागी हुने अपेक्षा गरिएको ‘आरयू ट्रेजर हन्ट रन’ पनि आयोजना हुनेछ । विद्यालयका विद्यार्थी, युवा नवप्रवर्तक, डिजाइनर तथा विश्वविद्यालयका विद्यार्थीलाई लक्षित गरी चक्रीय नवप्रवर्तन चुनौती सञ्चालन गरिनेछ । सहभागीले फोहोरको पुनः प्रयोग र चक्रीय अर्थतन्त्रमा आधारित नयाँ सोच तथा सिर्जनात्मक समाधान प्रस्तुत गर्न सक्नेछन् । प्रयोग भइसकेका कपडा तथा अन्य सामग्रीबाट तयार गरिएका पोसाक र कलाकृतिको अपसाइकल फेसन तथा कला प्रदर्शनी पनि महोत्सवको अर्को आकर्षण हुनेछ । यसका साथै अन्तरक्रियात्मक खेल, प्रयोगात्मक कार्यशाला, नाट्य प्रस्तुति, फोहोरबाट खेलौना निर्माण तथा बालबालिकालाई लक्षित आरयू कथापुस्तक विमोचनलगायतका कार्यक्रम सञ्चालन हुनेछन् । यसअघि सन् २०२५ अगस्ट १ र २ मा आयोजना भएको पहिलो संस्करणमा २७ वटा प्रदर्शक सहभागी भएका थिए ।

मङ्सिर २ र ३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने महोत्सवमा प्रवेश निःशुल्क रहनेछ । आयोजकले विद्यार्थी, युवा, उद्यमी, पर्यटन व्यवसायी, निजी क्षेत्र, सामुदायिक संस्था तथा सर्वसाधारणलाई महोत्सवमा सहभागी भई फोहोरलाई स्रोतमा बदल्ने अभियानमा हातेमालो गर्न आग्रह गरेको छ । फोहोर फाल्ने ठाउँबाटै समस्या सुरु हुन्छ भन्ने सोचलाई परिवर्तन गर्दै फोहोरबाट नयाँ उत्पादन, आम्दानी र रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको आरयू फेस्ट २०२६ पोखरालाई हरित, स्वच्छ र दिगो सहर बनाउने अभियानको एउटा महत्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ ।