
पोखरा, १ मंसीर,
आँखाको ज्योति मानव जीवनको अमूल्य सम्पत्ति हो । आँखा सम्वन्धी सामान्य समस्याको समयमै उपहिचान र उपचार हुन नसक्दा मानिसले दृष्टिसम्वन्धी गम्भीर समस्या भोग्नुपर्ने अवस्था आउने संवेदनशीलतालाई मध्यनजर गर्दै तनहुँको व्यास नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ ।
व्यास नगरपालिकाको कार्यालय परिसरमा स्थापना गरिएको उक्त केन्द्र नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग तथा व्यावस्थापनमा सञ्चालनमा ल्याइएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख न्यौपानेले आँखा उपचार केन्द्र सञ्चालनमा आएसंगै नगरपालिकाका साथै आसपास क्षेत्रका नागरिकले सहज रुपमा आँखा परिक्षण, चस्माको पावर जाँच, औषधि तथा आवश्यक परामर्श सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सामान्य आँखाको समस्या देखिँदा पनि उपचारका लागि टाढाका अस्पताल धाउनु पर्ने बाध्यता, समय र आर्थिक खर्चका कारण कतिपय नागरिकले उपचारमा ढिलाई गर्ने गरेको बताउँदै उहाँले भन्नुभयो, विशेषगरी जेष्ठ नागरिक, आर्थिक रुपमा कमजोर तथा नियमित स्वास्थ्य परिक्षण गराउन नसक्ने वर्गका लागि स्थानीयस्तरमै सेवा उपलव्ध हुनु महत्वपूर्ण उपलव्धि बन्ने छ । नेत्रज्योति संघ गण्डकी प्रदेशका अध्यक्ष प्रा.डा दिल वहादुर क्षेत्रीले आँखा सम्वन्धी समस्या समयमै पहिचान गरी उपचार गर्न सके दृष्टि गुम्ने जोखिम न्यूनीकरण गर्न सकिने बताउँदै केन्द्र केवल उपचार सेवा प्रदान गर्ने स्थान मात्र नभई नागरिकको दृष्टि संरक्षण र गुणस्तरीय जीवनसंग जोडिएको स्वास्थ्य सेवाको महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्नुभयो ।
नेत्रज्योति संघ कास्कीका अध्यक्ष सुरेन्द्र थापामगरले स्थानीय तह, नेपाल नेत्रज्योति संघ र हिमालय आँखा अस्पताल बीचको सहकार्यमा सुरु गरिएको यस सेवा केन्द्रले आँखा स्वास्थ्यप्रति जनचेतना अभिबृद्धि गर्नुका साथै सर्वसाधारणको पहुँचमा स्वास्थ्य सेवा पु¥याउने प्रयासलाई समेत सार्थक बनाउने विश्वास व्यक्त गर्नुभयो । समाजका विपन्न एवम् असहाय व्यक्तिलाई नगरपालिकाको सिफारीसमा निशुल्क शल्यकृया समेतका सम्पूर्ण उपचार गर्ने कार्यक्रमका अध्यक्ष समेत रहनु भएका थापाले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख इन्दिरा दरै, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का चुडामणी दहाल, नेपाली कांग्रेसका तुलसीराम सापकोटा, नेकपा(एमाले) का तुलसी पाण्डे, नेकपाका गोपाल सुर्खाली, आँखा अस्पतालका व्यवस्थापक कुमार गर्बुजा लगायतले आँखा उपचार केन्द्रको निरन्तरताको लागि आवश्यक पहल गर्ने सामूहिक प्रतिवद्धता व्यक्त गर्नुभयो ।





