
पोखरा मंसिर १,
पोखरामा आयोजना हुने प्रथम ‘किङ्स कप’ आमन्त्रित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता पब्लिक फोर के टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ। प्रतियोगिताका सबै खेल टेलिभिजनसँगै टेलिभिजनका आधिकारिक सामाजिक सञ्जालबाट समेत प्रत्यक्ष प्रसारण गरिने टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले बताए।
प्रतियोगिता युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा मंसिर ९ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुँदैछ। प्रत्यक्ष प्रसारण अधिकारका लागि क्लब र टेलिभिजनबीच सोमबार सम्झौता सम्पन्न भएको हो । सम्झौतामा क्लबका अध्यक्ष अशोक गुरुङ र पब्लिक फोर के टेलिभिजनका प्रवन्ध निर्देशक मन क्षेत्रीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रत्यक्ष प्रसारणको सम्पूर्ण अधिकार टेलिभिजनमा निहित रहनेछ ।
प्रतियोगितामा त्रिभुवन आर्मी, एपीएफ, नेपाल पुलिस क्लव, गण्डकी प्रदेश, कोशी प्रदेश र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र गरी ६ टोली सहभागी हुनेछन्। प्रतियोगितामा सहभागी टोलीले ३ जनासम्म विदेशी खेलाडी राख्न पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई २० हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिता संयोजक थमन गुरुङले बताए । प्रतियोगितालाई देश , विदेशमा रहेका दर्शकमाझ पु¥याउन प्रत्यक्ष प्रसारण आवश्यक रहेको र पोखरा आसपासका खेलको प्रत्यक्ष प्रशारणमा पब्लिक फोरकेले अग्रणी भूमिका निर्वाह गरेको उल्लेख गर्दै क्लवका अध्यक्ष गुरूङले टेलिभिजनसँग सम्झौता गरिएको बताए ।





