
दीननाथ बराल,
पोखरा ३०, कार्तिक,
दोस्रो संस्करणको हेमजा साहित्य महोत्सव मंसिर ५ र ६ गते हुने भएको छ । साहित्य, कला, संस्कृति र सिर्जनालाई एउटै थलोमा जोड्ने उद्देश्यसहित मङ्सिर ५ र ६ गते उक्त महोत्सव हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
दुई दिन चल्ने महोत्सवमा करिब ५ हजार दर्शक सहभागी गराउने लक्ष्य राखिएको हेमजा साहित्य प्रतिष्ठान, नेपालका अध्यक्ष तथा महोत्सव अध्यक्ष सुनील गायकले बताउनु भयो । महोत्सवले हेमजाको साहित्यिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले जनाउनु भयो । महोत्सव कुनै एक व्यक्ति वा संस्थाको मात्रै अभियान नभई समग्र हेमजाको साहित्यिक पहिचान, सामाजिक गौरव र सांस्कृतिक समृद्धिसँग जोडिएको साझा अभियान भएको उहाँको भनाई थियो ।
अध्यक्ष गायकले साहित्य समाजको चेतना, संवेदना र सभ्यताको ऐना भएकाले साहित्यिक गतिविधिलाई जनस्तरसम्म पु¥याउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । महोत्सवका निर्देशक छन्दमणि त्रिपाठीले जनमानसमा साहित्यप्रतिको रुचि बढाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उहाँले दोस्रो संस्करणलाई थप प्रभावकारी बनाउने तयारी गरिएको जनाउनु भयो । महोत्सवअन्तर्गत कविता, मुक्तक, गजल तथा लघुकथा वाचनका साथै साहित्यिक विमर्श, लोकसंस्कृति र सङ्गीतका कार्यक्रम समावेश गरिएका छन् ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, कास्की शाखाका अध्यक्ष माधव बराल लगायतकाको सहभागिता रहेको थियो । आयोजकले महोत्सवलाई सफल बनाउन सञ्चारमाध्यमबाट प्रचारप्रसार, रचनात्मक सुझाव तथा सकारात्मक समाचार सम्प्रेषणको अपेक्षा गरेको छ । हेमजाको माटोमा सिर्जनाका फूल फुलाउने, साहित्यका स्वर गुन्जाउने र काव्यनगरीको पहिचान देशविदेशसम्म फैलाउने उद्देश्यका साथ सबैलाई महोत्सवमा सहभागी हुनसमेत आह्वान गरिएको प्रतिष्ठानका महासचिव कोविदशरण उपाध्यायले बताउनु भयो ।





