
दीननाथ बराल,
पोखरा, ३० कात्तिक,
खेलकुदको शहर पोखरामा आयोजना हुने प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ मा ६ टोलीबीच प्रतिस्पर्धा हुने भएको छ । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा मङ्सिर ९ देखि १५ गतेसम्म पोखरा रङ्गशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा संचालन हुने प्रतियोगितामा तीन विभागीयसहित ६ टिमको सहभागिता रहने भएको प्रतियोगिता संयोजक थमन गुरुङले पोखराक्लिकलाई जानकारी दिनुभयो ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, घरेलु टोली गण्डकी प्रदेश भलिबल सङ्घ, कोशी प्रदेश भलिबल सङ्घ र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहने भएको उहाँले जनाउनु भयो । क्लबका अध्यक्ष अशोक गुरुङले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले राष्ट्रियस्तरका उत्कृष्ट टोलीलाई पोखरामा भेला गराएर प्रतिस्पर्धा गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्दै यसले पोखराको खेलकुद पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
खेल संयोजक बुद्ध सिंहका अनुसार सहभागी टोलीहरू प्रतियोगिताका लागि तयारी अवस्थामा रहेका छन् । प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन आवश्यक तयारी भइरहेको उहाँले बताउनुभयो । प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले २ लाख ५० हजार, तृतीय हुने टोलीले १ लाख र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको सचिव अशोक थापाले बताउनु भयो ।
प्रतियोगिताका लागि क्लबले सिजनल टिकटको अग्रिम बुकिङसमेत खुला गरेको छ । सिजनल टिकटको मूल्य २ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । प्रतियोगिताभरिका खेल अवलोकन गर्न चाहने दर्शकले अग्रिम टिकट बुकिङ गर्न सक्ने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब ६० लाख ९५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने विभिन्न प्रायोजक, सरकारी निकाय, टिकट बिक्री, सहयोगी संस्था तथा सञ्चारमाध्यमलगायतका स्रोतबाट ७१ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ । भलिबल खेलको विकास, विस्तार तथा खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक गुरुङले बताउनुभयो ।
यसअघि मङ्सिर १ देखि ६ गतेसम्म सञ्चालन गर्ने तय भएको प्रतियोगिता काभा पुरुष भलिबल लिगका कारण सारिएको क्लवले जनाएको छ । भारतमा नोभेम्बर १५ देखि २२ (कात्तिक २९ देखि मङ्सिर ६ गते) सम्म आयोजना हुने काभा पुरुष भलिबल लिगमा नेपाली राष्ट्रिय टोली सहभागी हुने भएपछि राष्ट्रिय खेलाडीको सहभागिता सुनिश्चित गर्न प्रतियोगिताको मिति परिवर्तन गरिएको आयोजकले जनाएको छ ।





