पोखराका चार स्थानमा धुमधामका साथ मनाइयो छठ पर्व (भिडियो सहित)

-


     पोखरा क्लिक     
     कार्तिक ३० गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ३० कात्तिक,

प्रतिकूल मौसमका बाबजुद पोखरामा यस वर्ष पनि चार स्थानमा सामूहिक रूपमा छठ पर्व धुमधामका साथ मनाइएको छ । सूर्यदेव र छठी माताको उपासनाका लागि पोखराका विभिन्न घाटमा व्रतालु तथा श्रद्धालु भक्तजन भेला भएर उदाउदो सूर्यलाई अघ्र्य अर्पण गरेका हुन् । पोखरामा मुख्यगरी नदीपुरस्थित नारायणथान मन्दिर परिसर, बैदामस्थित केदारेश्वर महादेवमणि मन्दिर परिसरको फेवाताल किनार, भद्रकाली मन्दिर परिसरस्थित माछापोखरी र रिठ्ठाघाट त्रिवेणीधाम (कालीखोला) क्षेत्रका छठ पूजा समितिहरूले सामूहिक रूपमा पर्व मनाउने व्यबस्थापन गरेका हुन् ।

भद्रकाली छठ पूजा समिति माछापोखरीका संयोजक तारानन्द शर्माका अनुसार प्रतिकूल मौसमका बाबजुद पनि यस वर्ष माछापोखरी क्षेत्रमा उत्साहपूर्वक छठ पर्व मनाइएको छ । उहाँका अनुसार यस वर्ष माछापोखरीमा २३ जना मुख्य व्रतालुले सूर्य भगवानको पूजा आराधना गरेका थिए भने एक सय ५० जनाभन्दा बढी श्रद्धालु तथा भक्तजनले सामूहिक रूपमा सूर्यको उपासना गरेका थिए ।

यस वर्ष माछापोखरीको मर्मतसम्भारका क्रममा पोखरीको गहिराइ बढेकाले पूजा व्यवस्थापन तथा अघ्र्य अर्पणका क्रममा केही कठिनाइ भएको संयोजक शर्माले बताउनुभयो । प्रतिकूल परिस्थिति र व्यवस्थापनका केही चुनौतीका बीच पनि श्रद्धालुहरूको सहभागिताले पर्वलाई उत्साहपूर्ण बनाएको उहाँको भनाइ छ । यसैगरी, बैदामस्थित केदारेश्वर महादेवमणि मन्दिर परिसरमा रहेको फेवाताल किनारको छठघाटमा पनि छठ माताको पूजा आराधना गरिएको छ । नेपाल–भारत व्यवसायी संघ (एनबी) कास्कीका पूर्वअध्यक्ष भुनेस कुमारले छठ पर्वलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभयो ।

काम, व्यवसाय तथा विभिन्न पेसाका सिलसिलामा तराई–मधेसबाट पोखरा आएर बसोबास गर्दै आएका समुदायले आफ्नो मौलिक धार्मिक तथा सांस्कृतिक पर्वलाई पोखरामै सामूहिक रूपमा मनाउन थालेपछि यहाँ छठ पर्वको आकर्षण र सहभागिता बढ्दै गएको उहाँले बताउनुभयो । पोखरामै सहज रूपमा छठ पूजा गर्न पाउँदा व्रतालु तथा भक्तजनलाई ठूलो सुविधा पुगेको उहाँको भनाइ छ ।

त्यसैगरी, नदीपुरस्थित नारायणथान मन्दिर परिसरको छठघाटमा पनि श्रद्धा र भक्तिपूर्वक छठ पूजा गरिएको छ । नारायणथान मन्दिर निलकण्ठ महादेव छठ पूजा समितिका अध्यक्ष विनोद गुप्ताका अनुसार आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरिएको छ भने सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर पर्वको समापन गरिएको छ । अध्यक्ष गुप्ताका अनुसार पोखरामा करिब दुई दशकभन्दा अघिदेखि नारायणथान मन्दिर नजिकैको नहरबाट छठ पूजा गर्न सुरु गरिएको हो । सुरुमा सीमित स्थान र समुदायको सहभागितामा मनाउन थालिएको छठ पर्व अहिले पोखराका विभिन्न क्षेत्रमा विस्तार हुँदै गएको उहाँले बताउनुभयो ।

छठ पर्वको अवसरमा पूजा अवलोकन गर्न आउने श्रद्धालु भक्तजन तथा सहभागीहरूलाई निःशुल्क प्रसाद वितरण गरिएको पनि अध्यक्ष गुप्ताले जानकारी दिनुभयो । पोखराका चारवटै छठ पूजा स्थलमा चिया तथा प्रसाद वितरणको व्यवस्था गरिएको थियो । छठ पर्वलाई व्यवस्थित बनाउन विभिन्न घाटमा सरसफाइ, सजावट तथा आवश्यक व्यवस्थापनका काम गरिएको थियो। घाटहरूलाई आकर्षक रूपमा सजाएर पूजाका लागि तयार पारिएको थियो। प्रतिकूल मौसमका बीच पनि व्रतालु तथा भक्तजनको उत्साहपूर्ण सहभागिताले पोखरामा छठ पर्वको रौनक थपिएको थियो ।

चार दिनसम्म श्रद्धा, भक्ति र निष्ठापूर्वक मनाइने छठ पर्व सूर्यदेव र छठी माताको उपासनासँग सम्बन्धित महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो । पारिवारिक सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा परिवारजनको कल्याणको कामना गर्दै यो पर्व मनाउने परम्परा छ । पोखरामा छठ पर्व मनाउने परम्परा विस्तार हुँदै जाँदा यहाँ बसोबास गर्ने तराई–मधेस मूलका समुदायले आफ्नो मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्तामाझ हस्तान्तरण गर्ने अवसरसमेत पाएका छन्। पछिल्लो समय पोखरामै व्यवस्थित रूपमा छठ पूजा गर्न पाउने वातावरण बनेसँगै स्थानीयस्तरमा यस पर्वप्रतिको आकर्षण र सहभागिता पनि बढ्दै गएको छ ।