
पोखरा,
पोखरामा जारी प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगितामा कास्की र स्याङ्जाले जित हासिल गरेका छन्। पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएका खेलमा स्याङ्जाले बागलुङलाई ९० रन र कास्कीले पर्वतलाई १२ रनले पराजित गरेका हुन्।

पहिलो खेलमा स्याङ्जाले दिएको १२८ रनको लक्ष्य पछ्याएको बागलुङ ११.४ ओभरमा ३७ रनमै समेटियो। बागलुङका कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन्। सुप्रिया घर्ती मगरले सर्वाधिक ९ तथा अनुजा सुनारले ८ रन बनाइन्। स्याङ्जाको जितमा सिमाना केसी र रञ्जना साउदले समान ३ विकेट लिए। सिमानाले २ ओभरमा २ मेडन राख्दै ३ विकेट लिइन्। जारी प्रतियोगितामा २ मेडनसहित विकेट लिने उनी पहिलो बलर बनेकी छन्। रञ्जनाले ४ ओभरमा १० रन खर्चिइन्। ब्याटिङतर्फ पनि सिमानाले ३४ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३४ रन बनाइन्। उनी प्लेयर अफ दी म्याच घोषित भइन्।
यसअघि स्याङ्जाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२७ रन बनाएको थियो। सिमानाको ३४ र भावना भट्टराईको अविजित १९ रन महत्वपूर्ण रह्यो। सेरिना थापाले १६ रन बनाइन्। बागलुङकी कुशुम राईले ३ विकेट लिइन्। अर्को खेलमा कास्कीले पर्वतलाई १२ रनले हरायो। ६९ रनको लक्ष्य पछ्याएको पर्वतले २० ओभरमा ९ विकेट गुमाएर ५६ रनमात्र बनाउन सक्यो। पर्वतकी एन्जल अधिकारीले सर्वाधिक १५ रन बनाइन्।कास्कीकी यशोदा भुजेलले ४ ओभरमा ६ रन खर्चेर ३ विकेट लिँदै जितमा महत्वपूर्ण योगदान गरिन्। उनी प्लेयर अफ दी म्याच घोषित भइन्। सिमाना रेग्मीले २ विकेट लिइन्।
त्यसअघि कास्की १९।२ ओभरमा ६८ रनमै अलआउट भएको थियो। रिया तामाङले १४ र चन्द्रमायाले १२ रन बनाए। पर्वतकी जेनिशा शर्मा र अनुषा पौडेलले समान २ विकेट लिए। गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतियोगिताले महिला क्रिकेटको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा प्रतिभा पहिचानमा सहयोग पुग्ने बताउनुभयो।





