सृजना विकास केन्द्रको साधारण सभामा बोल्दै प्रजिअ गुरुङले सामाजिक रूपान्तरणका संवाहक बन्न सामाजिक सङ्घसंस्थालाई आग्रह

-


     पोखरा क्लिक     
     कार्तिक २९ गते २०८३ मा प्रकाशित


पोखरा,

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले सामाजिक सङ्घसंस्थाहरू समाज रूपान्तरणका संवाहक बन्नुपर्ने बताउनुभएको छ। उहाँले सामाजिक संस्थाहरूले आफ्नो उद्देश्यअनुरूप पारदर्शी, जबाफदेही र सुशासित ढङ्गले काम गर्दै समुदायको विकासमा थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको हो।

पोखरा–८, सिमलचौरस्थित सृजना विकास केन्द्रको ४९औँ वार्षिक साधारण सभा तथा ४६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गुरुङले राज्यको पहुँच सबै क्षेत्रमा एकैपटक पुग्न नसक्ने अवस्थामा सामाजिक सङ्घसंस्थाहरूले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खेलकुद, जनसेवा र सामुदायिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभयो।

सामाजिक संस्थाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउनुअघि आफूभित्रै संस्थागत सुधार र सुशासन कायम गर्न आवश्यक रहेको उहाँको भनाइ थियो। परिवार, समाज र राष्ट्रलाई रूपान्तरण गर्ने अभियान सफल बनाउन व्यक्ति र संस्था स्वयं रूपान्तरित हुनुपर्ने उल्लेख गर्दै उहाँले स्थानीय प्रशासन सामाजिक सङ्घसंस्थासँग सहकार्य गर्न सधैँ तयार रहेको स्पष्ट पार्नुभयो। मानव जीवनलाई सुव्यवस्थित, मर्यादित र सभ्य बनाउन मर्यादा, आचरण र अनुशासन महत्त्वपूर्ण आधार भएको बताउँदै उहाँले बालबालिकालाई घरपरिवारबाटै असल संस्कार सिकाउनुपर्नेमा जोड दिनुभयो। ठूलालाई आदर गर्ने, सानालाई माया गर्ने, नियम पालना गर्ने र असल व्यवहार गर्ने संस्कारले नै सभ्य समाज निर्माणमा योगदान पुर्‍याउने उहाँको भनाइ थियो।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी गुरुङले संस्थाद्वारा प्रकाशित ‘सृजना दर्पण–२०८३’ को विमोचनसमेत गर्नुभएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष चन्द्र गिरीले सृजना विकास केन्द्रले सामाजिक तथा शैक्षिक क्षेत्रको विकास, महिला सशक्तीकरण र सामुदायिक उत्थानलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले संस्थागत सुशासनलाई थप सुदृढ बनाउँदै सामाजिक सेवालाई प्रभावकारी र परिणाममुखी बनाउने योजनाका साथ संस्था अगाडि बढिरहेको बताउनुभयो।

संस्थाका संस्थापक अध्यक्ष डम्बरबहादुर केसीले सामाजिक सेवा गर्ने उद्देश्य र हुटहुटीका साथ केन्द्र स्थापना गरिएको स्मरण गर्दै समय र परिस्थितिअनुसार संस्थाका योजना तथा कार्यक्रमलाई परिमार्जन गर्दै लैजानुपर्ने बताउनुभयो। उहाँले निःस्वार्थ भावले सामाजिक सेवा गर्ने संस्थाहरूको संरक्षण र प्रवर्द्धनमा प्रशासनको पनि महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो। संस्थापक सल्लाहकार लीलाधर पराजुलीले सबैको सामूहिक प्रयास र सहकार्यबाट मात्रै संस्थालाई सफल बनाउन सकिने बताउनुभयो। सृजना महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शारदा गिरीले सामाजिक कार्यमा सक्रिय संस्थाहरूलाई प्रशासनले प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो।

जनप्रिय बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र पहारीले सामाजिक तथा शैक्षिक क्षेत्रमा सृजना विकास केन्द्रले पुर्‍याएको योगदान उदाहरणीय रहेको बताउँदै आगामी दिनमा पनि संस्थाले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा पूर्वअध्यक्ष तथा ‘सृजना दर्पण–२०८३’ प्रकाशन समितिका संयोजक हरिप्रसाद बरालले संस्थाको इतिहास, गतिविधि र उपलब्धिलाई अभिलेखीकरण गर्न प्रकाशनले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले २०४५ सालमा प्रकाशित ‘पहिलो सृजना स्मारिका’ देखि हालसम्मका प्रकाशन संस्थाका ऐतिहासिक दस्तावेज तथा महत्त्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्नुभयो।

साधारण सभाले कार्यवाहक महासचिव उर्मिला भट्टराईद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८३र८४ को प्रस्तावित कार्यक्रम पारित गरेको छ। त्यसैगरी कोषाध्यक्ष अशोककुमार श्रेष्ठद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२र८३ को आर्थिक प्रतिवेदन र आर्थिक वर्ष २०८३र८४ को प्रस्तावित बजेट पनि छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको पूर्वअध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो। सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि क्रियाशील सृजना विकास केन्द्रले सृजना बहिरा विद्यालयको स्थापना, सृजना बालगृहको स्थापना तथा सञ्चालन, जनप्रिय बहुमुखी क्याम्पस स्थापनामा योगदान, सृजना खानेपानी परियोजना, महिला सशक्तीकरण तथा लघुवित्तीय कार्यक्रम र सृजना महिला बचत तथा ऋण सहकारी संस्थामार्फत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। यसका अतिरिक्त वृक्षरोपण अभियान, खेलकुद प्रवर्द्धन तथा सामुदायिक विकासका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।

संस्थाका अध्यक्ष चन्द्र गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बालकृष्ण बरालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन कार्यवाहक महासचिव उर्मिला भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा सडक डिभिजन पोखरा तथा मध्यपहाडी राजमार्गका कार्यालय प्रमुख नारायणदत्त भण्डारीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।